arrow

जब गाउँलेले उखाले पण्डितको जुँगा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
pandits.jpg

एउटा गाउँमा लोक रञ्जन नाम गरेका एक अनपढ तर चलाख ब्राह्मण थिए । उसको चलाखीबाट सबै गाउँलेका मनमा यी ब्राह्मण बहुतै विद्वान हुन भन्ने विश्वास परेका थिए । गाउँलेहरू कथा पुराण तिनै ब्राह्मणबाट सुन्थे ।

चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको थियो । व्यासासनमा बसी ती ब्राह्मण जुँगा मुसारी मुसारीकन जे पनि हो भन्दै पत्याई सुन्ने गाउँलेहरूलाई हँसाई हँसाईकन जे मन लाग्यो त्यही सुनाई रहेका थिए । 

त्यसै बेलामा आचार्य पास गरी घर फर्कँदै गरेका एक जना विद्वान पण्डित त्यहाँ आइपुगे । पुराण लागेको देखी एक छिन म पनि सुनेर जान्छु भन्ने विचार गरेर उनी त्यहीँ विश्राम गरी पुराण सुन्न थाले । 

लोक रञ्जन ब्राह्मणले साह्रै अशुद्धसँग पुराण बाचेको सुनी ती पण्डितका मनमा यस्ता ढोङी मूर्खलाई सजाएँ दिनु पर्‍यो भन्ने लाग्यो ।

जब पुराण सकियो सबैले फूल प्रसाद लिए । ती विद्वान पण्डितले पनि फूल प्रसाद लिए ।त्यही बेलामा लोक रञ्जन ब्राह्मणले जुँगा मुसार्दा जुँगाको एउटा रौँ खस्यो । विद्वान पण्डितले झटपट त्यस रौँलाई टिपेर आफ्नो धोतीको टुप्पामा पोको पारी बाँधे ।

त्यो देखेर कथा सुन्ने गाउँलेहरूले किन रौँ पोको पारी बाँधेको भनी सोधे । त्यसपछि ती विद्वान पण्डितले भन्न थाले- “पुराणको अन्त्यमा कथा भन्ने पण्डितको जुँगा लिन सके भूत-प्रेत, वीर, गानो केही कुराले पनि सताउन सक्दैन । त्यसैले यो रौँ लिएको हो ।”

यति के सुन्नु थियो, पुराण सुन्ने हरूले धुइरेर लोक रञ्जन ब्राह्मणको जुँगा एक-एक गरेर उखालेर लगे । लोक रञ्जन ब्राह्मणको जुँगाको एउटा रौँ पनि बाँकी रहेन । त्यसपछि ती विद्वान पण्डित ढोङी मूर्खले सजाएँ पाए भनी आफ्नो बाटो लागे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ