arrow

अहङ्कारीलाई प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
kalidass.jpg

काठमाडौँ । कालिदासलाई आफ्नो विद्वत्ता प्रति ज्यादै अहङ्कार थियो ।  एक पटक कुनै आदिवासी गाउँमा जाँदै गर्दा कालिदासलाई असाध्यै तिर्खा लाग्यो । उनले पानी बोकेर आउँदै गरेको एक जना वृद्धलाई देखे । 
 
कालिदासले वृद्धको नजिक गएर भने,'आमा मलाई पानी पिउन दिनुहोस् , तपाईँलाई ठुलो पुण्य प्राप्त हुनेछ ।'
वृद्धले भनिन,' बाबु म तिमीलाई चिन्दै चिन्दिन पहिले आफ्नो परिचय देऊ । म अवश्य पनि तिमीलाई पानी दिन्छु ।'
कालिदासले भने,' म पथिक हुँ, कृपया अब पानी पिलाउनु होस् ।' 
वृद्धले भनिन्,' तिमी पथिक कसरी हुन सक्छौ? पथिक त केवल दुई मात्र छन् एक सूर्य अर्को चन्द्रमा । जो कहिल्यै पनि रोकिँदैनन् । सधैँ घुमिरहन्छन् , तिमी यी दुई मध्ये कुन हौ पहिले मलाई सत्य बताऊ ।' 
कालिदासले भने,'म पाहुना हुँ, कृपया मलाई पानी पिलाउनु होस् ।' 
वृद्धले भनिन्,' तिमी पाहुना कसरी हुन सक्छौ? संसारमा दुई मात्र पाहुना छन् । पहिलो धन, दोस्रो यौवन । यी जानमा समय लगाउँदैनन् , सत्य बताऊ तिमी को हौ?'

बद्धसँगको तर्कले पराजित कालिदास हताश भइसकेका थिए । कालिदासले भने, 'म सहनशील हुँ, अब त पानी पिलाउनु होस् ।' 

वृद्धले भनिन्,'होइन, सहनशील त दुई मात्र छन् । पहिलो, धरती जो पापी-पुण्यात्मा सबैका बोझ सहन्छ । उसको छाती चिरेर बिउ उम्रन्छ तब मात्र अनाजको भण्डार बन्छ ।  दोस्रो रूख जसलाई ढुङ्गाले हान्दा समेत मिठो फल दिने गर्छ । तिमी सहनशील होइनौँ, साँचो बताऊ तिमी को हौँ ?'

कालिदास लगभग मुर्छित स्थितिमा आउन थाले । तर्क-वितर्कबाट निराश हुँदै उनले भने,' म हठी हुँ । अब त पानी पिलाउनु होस् आमा ।' वृद्धले भनिन्,' फेरी असत्य । हठी त दुई मात्र छन् । पहिला नङ र दोस्रो कपाल । जति काटे पनि बढ्न छाड्दैन, सत्य भन ब्राह्मण तिमी को हौ?'

कालिदास पूर्ण रूपमा अपमानित एवं पराजित भइसकेका थिए । अन्तमा आजित भएर कालिदासले भने,' त्यसो भए म मूर्ख हुँ ।' 

वृद्धले भनिन,'होइन तिमी मूर्ख कसरी हुन सक्छौ?  मूर्ख त दुई मात्र हुन्छन् । पहिलो शासक जो बिना योग्यता सबै माथि शासन गर्दछ ।  दोस्रो शासकका सल्लाहकार जो शासकलाई प्रसन्न पार्नका लागि गलत तथ्यमाथि पनि तर्क गर्दछन् र गलतलाई सही सिद्ध गर्ने चेष्टा गर्दछन् ।' 

कालिदास केही बोल्ने स्थितिमा थिएनन् । अन्तमा उनी नतमस्तक हुँदै वृद्धको चरणमा शिर राख्दै पानीको लागि अनुनय विनय गर्न थाले । 

वृद्धले भनिन्,'उठ बाबु । शिक्षाबाट ज्ञान प्राप्त हुन्छ । अहङ्कार होइन , हामीले शिक्षाको बलले प्राप्त गरेको मान एवम् प्रतिष्ठालाई नै आफ्नो उपलब्धि ठानेर कहिल्यै अहङ्कार गर्नु हुँदैन ।'  कालिदासलाई आफ्नो गल्ती महसुस भयो र उनी पानी पिएपछि वृद्धसँग कृतज्ञ हुँदै आफ्नो गन्तव्य तर्फ लागे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ