arrow

नरहरि आचार्यको 'जीवनको पाठशाला, सम्झना र सम्बन्ध'को आवरण सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
Narahari Acharya Cover.jpeg

काठमाडौं । नरहरि आचार्यको ६८औँ जन्मदिनको अवसरमा साङ्ग्रिला बुक्सले उनको आत्मकथा 'जीवनको पाठशाला, सम्झना र सम्बन्ध'को आवरण सार्वजनिक गरेको छ । नेपाली राजनीतिको पछिल्लो परिवर्तनका एक प्रखर र प्रमुख कर्ताका रूपमा आचार्यले उल्लेखनीय भूमिका निभाएका थिए। 

आचार्यले खास गरी नेपाली काँग्रेसलाई गणतन्त्रको बाटोमा ल्याउन र संविधान निर्माणमा सक्रिय र सकारात्मक योगदान दिएका थिए। यी यावत सम्झनालाई शब्दहरूमा उनेर बाल्यकालदेखि विविध राजनीतिक घटनाक्रमको विकास क्रमका साथै मष्तिस्कघातपछिको जीवनलाई लयमा फर्काउने प्रयत्नसम्मका कुरा यो पुस्तकमा समेटिएका छन् ।

पुस्तकका बारेमा डा. जयराज आचार्य भन्छन्, 'विद्यार्थीकलादेखि प्राध्यापन काल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रका मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुन गएको राजनीतिक विश्वास, विचार र कार्यक्रम नै यस कथाका विविध विषयलाई फूलका थुङ्गा झैँ उनेर एउटै माला बनाउने बलियो धागो बनेको देखिन्छ ।'

यस्तै पुस्तकका लेखक आचार्य, 'चलनचल्तीको राजनीतिबाट सन्तुष्ट भएर आफ्नो सुरक्षा र सुविधामा रमाउनुको सट्टा पार्टी र राज्य दुबैमा युगान्तकारी सुधारका निम्ति निरन्तर प्रयासरत रहने दुर्लभ नेताका रूपमा आफूले चिनेको,' डा. देवेन्द्रराज पाण्डे बताउँछन् । 

आचार्यका बारेमा यी कुरा सार्वजनिक रेकर्डमा रहेका भए पनि थाहा नहुनेले यो पुस्तकका माध्यमबाट थाहा पाउने उनको भनाइ छ । २०७२ माघ २६ गते अचानक मष्तिस्कघात भएपछि राजनीतिमा श-शरीर निष्क्रिय भएका आचार्यले यो पुस्तक स्वास्थ्यमा सुधार आउँदै गर्दा तयार पारेका हुन् । 

तथापि यसको खाका भने उनले त्यसअघि नै कोरिसकेका थिए । उनले लेखकीयमा भनेका छन्, 'पुस्तकमा सबै मेरो जीवनसँग स्पर्श भएका प्रसङ्गहरू छन् । जजसको बारेमा प्रसङ्ग उल्लेख गरेको छु, जस्तो मैले अनुभव गरे त्यस्तै छ ।'

यो पुस्तक दसैँअघि नै बजारमा उपलब्ध हुने साङ्ग्रिला बुक्सले जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ