- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कुनै समयको राज महलको छेउबाट एक साधु हिँड्दै थिए । हिँड्दै गरेका साधुले भन्दै थिए,- 'केही समय राजाको जस्तो बित्यो, केही समय राजाको भन्दा राम्रो बित्यो ।' सो कुरा राजाका सेवकले राजालाई सुनाइदिए ।
यस्तो कुरा सुनेर अचम्ममा परेका राजाले साधुलाई बोलाएर सोधे, - 'हे फकिर ! म यति ठुलो साम्राज्यको चक्रवर्ती राजा हुँ, मेरो अपार वैभव छ, यदि मैले चाहेँ भने तिमीलाई अहिले मार्न सक्छु मेरोमा यति फौज छ, तिमीले मेरो बराबरी कसरी गर्न सक्छौ ? तिम्रो दिन मेरोभन्दा राम्रो कसरी बित्न सक्छ ?'
यो सुनेर साधुले नम्र भएर भने,-'राजन म मान्छु कि तपाईँ यति विशाल राज्यको राजा हुनुहुन्छ, अपार धन-वैभव छ, नोकर-चाकर छन्, विशाल फौज छ, आलिसान महल छ, सुगन्धित मखमली शय्यामा सुत्नुहुन्छ तर निद्रामा तपाईँलाई म कहाँ सुतेको छु केही थाहा रहँदैन । अनि म रुखको फेदमा खाल्टाखुल्टी भुईँमा सुत्छु, निदाएपछि मलाई पनि म कहाँ सुतेको छु केही याद रहँदैन, अब बताउनुहोस्, तपाईँ र मेरो यो अवस्थामा के अन्तर छ ?'
'अनि तपाईँ बिहान उठेर नुहाइ-धोइ गरी खाना खाएर राजदरबारमा जानु हुन्छ अनि दिनभर मुद्दा-मामिलाको फैसला गर्दा गर्दा थाकेर हैरान हुनुहुन्छ, कहीँ कुनै कसुर बिनाको निर्दोषलाई फाँसीको हुकुम दियो भने त्यतै आपत् हुन्छ । फेरि कहीँ शत्रुले मेरो राज्यमाथि हमला गर्छ कि भन्ने चिन्ता लागिरहन्छ । जबकि म बिहान उठेर गुरुको ध्यान गर्छु, खाने-पिउने मलाई केही चिन्ता रहँदैन, यसर्थ मेरो दिन तपाईँको भन्दा धेरै राम्रो बित्छ ।'
यसरी साधुले सम्झाएपछि राजाले चित्त बुझाए ।