arrow

नारदको परीक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
narada-muni.jpg

काठमाडौँ । नारद मुनी वैकुण्ठको यात्रामा थिए । एक महिलासँग उनको भेट भयो ।  ती महिलाले भनिन्, 'मुनिवर ! भगवानलाई यो सोधिदिनु होला कि मेरो घरमा सन्तान कहिले हुने छ?'

नारदजीले भने, 'ठिक छ, सोध्ने छु ।' वैकुण्ठमा पुगेर नारदजीले भगवानलाई त्यो महिलाको सन्तानको बारेमा सोधे। भगवान् नारायणले भन्नुभयो, 'ती महिलाको भाग्यमा सन्तान सुख छैन ।'फर्केर आउँदा नारदजीले ती महिलालाई भने- 'भगवानले भन्नभयो तपाईँको भाग्यमा सन्तान सुख छैन रे।'

समय बित्यो। गाउँमा एक साधु आएर ती महिलाको घरका अगाडि अलख जगाए, जसले मलाई भोजन गराउने छ, म उसलाई सन्तान दिने छु । ती महिलाले चाँडो गरेर खाना पकाइन् अनि साधुलाई प्रेमसँग भोजन गराइन् । साधुले जे भनेका थिए उस्तै भयो, उनको घरमा एउटा छोराको जन्म भयो ।

केही वर्षपछि नारदजी फेरि भ्रमण गर्दै वहाँ पुग्छन् । तब ती महिलाले भन्छिन्, 'मुनिवर! तपाईँले त भन्नुभएको थियो मेरो कुनै सन्तान हुँदैन, यो हेर्नुहोस्, मेरो छोरो राजकुमार ।' यसको साथै ती महिलाले साधुको बारेमा पनि बताइन्।

अब नारदजीलाई यस कुराको जवाफ चाहियो, यस कारण भगवान् नारायणका वैकुण्ठ धाम पुगे। वहाँ पुगेर भगवानलाई भन्छन्, 'प्रभु! तपाईँले त भन्नुभएको थियो कि ती महिलाको कुनै सन्तान हुने छैन, तर उनको त एउटा छोरो जन्मेको छ।'

भगवानले भन्नुभयो, 'आज मेरो स्वास्थ्य ठिक छैन, तपाईँको प्रश्नको जवाफभन्दा पहिले मेरो निम्ति औषधिको प्रबन्ध गर्नुहोस् ।' नारदले भन्छन्, 'प्रभु, आज्ञा गर्नुहोस् ।' तब भगवानले भन्नभयो, 'तपाईँले मृत्यूलोकमा गएर एक कटौरी रगत लिएर आउनु होस्।'

नारदजी मत्यलोकमा एउटा कटौरी लिएर कहिले यता, कहिले उता घुमिरहे, तर कहीँ रगत मिलेन । उल्टै मानिसहरूले उनको उपहास गर्दै भन्छन्, 'कहीँ भगवान् पनि बिमार हुन्छ ?' घुम्दा-घुम्दा नारद त्यही साधुकोमा पुग्छन् जसले ती महिलालाई सन्तान हुने आशीर्वाद दिएका थिए।

साधुले नारदलाई चिन्थे, उनले भने, 'अरे नारदजी! तपाईँ यो जङ्गलमा यस समय के गरिरहनु भएको छ?'
 नारदले भन्छन्, 'प्रभुले मनुष्यको एक कटौरी रगत ल्याउनु भन्नुभएको छ।'
 यो सन्नसाथै साधुले भन्छन्, 'प्रभुको लागि मेरो रगत लानुहोस्।'
साधुले आफ्नो शरीरबाट एक कटौरी रगत दिन्छन् । नारद रगत लगेर वैकुण्ठमा पुग्छ अनि भन्छन्, 'प्रभु, तपाईँको निम्ति मैले औषधि लिएर आएँ। '

भगवानले भन्नभयो, 'यही तपाईँको सवालको जवाफ पनि हो । जुन साधुले मेरो लागि खून माग्दा तत्काल आफ्नो शरीरबाट यति खून दिएर पठाए, के त्यो साधुले आशीर्वाद दिँदा म कसैलाई सन्तान दिन सक्तिन ? ती महिलालाई आशीर्वाद तपाईँले पनि त दिन सक्नु हुनेथ्यो, तर दिनुभएन । रगत त तपाईँको शरीरमा पनि थियो, तर दिनु भएन । मनुष्यको भाग्य केवल प्रारब्ध द्वारा निर्मित हुँदैन, अपितु  सत्कर्म र आशीर्वाद द्वारा पनि प्रभावित हुन्छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ