arrow

महाधिवेशनमा आएका नेविसंघका विद्यार्थी भन्छन ‘अरू संगठनको अगाडि नाकै काटिने भो’

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
nsu-mahadibesan5.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी ११ औं महाधिवेशन सफलताका साथ सम्पन्न हुनेमा आशंका बढ्दै जाँदा देशका विभिन्न स्थानहरूबाट आएका प्रतिनिधिहरूमा भने निराशा छाएको छ। सोमबार ११ बजेदेखि बन्दसत्र सुरू हुने भनिएपनि विवादकै कारण अहिलेसम्म पनि बन्दसत्र सूरू हुन सकेको छैन भने प्रतिनिधिहरूमा अन्योलता बढ्दै गएको छ। नेविसंघ केन्द्रीय समितिले प्राविधिक कारण जनाउँदै भोली २ बजेसम्मका लागि महाधिवेशनको बन्द सत्र स्थगित गरेको छ। 
 
नेविसंघ महाधिवेशनको लागि देशका विभिन्न स्थानबाट आएका प्रतिनिधिहरू हजारौं खर्च गरेर आउँदा पनि महाधिवेशन हुन सकेन भने कुन मुख देखाएर घर फर्कने भनेर चिन्तित बन्न थालेका छन्। धादिङबाट आएका चोलेन्द्र रिजाल महाधिवेशनको बन्दसत्र हुनु पर्ने दिन प्रतिनिधि विवाद नमिलाएर अन्यौलता बोक्दै हिड्नु कहाँसम्मको बहुलठ्ठी पन हो भन्दै प्रतिप्रश्न गर्छन्। हुन पनि महाधिवेशन बन्द सत्र सञ्चालन हुने स्थान भृकुटीमण्डपमा कुनै पनि व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ। 
 
त्यस्तै, सुदुरपश्चिमबाट आएका प्रयाग उपाध्याय पनि काठमाडौंको वाल्मीकि क्याम्पसमा बसेर नेविसंघ नेतृत्वलाई नै सरापिरहेका छन्। उनको बाध्यता अर्कै छ। बल्ल तल्ल धनगढीमा झरेर एउटा सानोतिनो जागिर खान थालेका उनी अहिले यो नेविसंघको महाधिवेशन कहिलेसम्म लम्बिने हो भन्ने थाहा नहुँदा अन्यौलता सिर्जना भएको बताउँछन्। उनलाई फर्केर जाँदा जागिर पनि जाने होकी भन्ने चिन्ता पनि छ। 
 
यतिवेला काठमाडौंको भृकुटीमण्डपको माहोल त तातिएको छ। तर माहोल तातिएपनि महाधिवेशन प्रतिनिधिहरूमा भने निराशा छाईरहेको छ। उनीहरू महाधिवेशन भएन भने कुन मुखले घर फर्किनु? भनेर चिन्तित मुद्रामा प्रतिप्रश्न गर्छन्। तर नेतृत्व भने आफ्नो भागबण्डा मिलाउने बहानामा बरू महाधिवेशन नभए पनि ठीकै छ भन्नेमा लाग्दा समस्या भएको छ। महाधिवेशन प्रतिनिधीहरू जिल्ला गएपछि अन्य संगठनका प्रतिनिधिहरूको अगाडि मुख देखाउन पनि मुस्किल पर्ने स्थिती आएको गुनासो गर्छन्। 
 
धादिङबाट आएका रिजाल तीन क्षेत्र मध्ये तीनै क्षेत्रमा एमालेले जितेको जिल्लाका मान्छे हुन्। उनी अनेरास्ववियू र क्रान्तिकारी विद्यार्थी नेताहरूले नौ वर्षसम्म पनि महाधिवेशन गर्न नसकेको पार्टीको नेता भनेर आफूहरूलाई सधैंभरी आरोप लगाउने र खिल्ली उडाउने गरेको भन्दै अब पनि महाधिवेशन सफलताका साथ सम्पन्न भएन र नयाँ नेतृत्व निर्वाचनबाट छनोट गर्न सकिएन भने आफू जिल्ला फर्किए पनि नाक देखाएर राजनीतिक कार्यक्रमहरुमा जान नसक्ने स्थिती सिर्जना हुने बताउँछन्। उनीजस्तै धेरै नेताहरू महाधिवेशन विना नै गाउँ फर्किनु परेको खण्डमा मुख देखाउने नसक्ने स्थितीमा रहेको बताउँछन्।
 
नेविसंघमा बन्द सत्र हुने बेलासम्म पनि महाधिवेशन प्रतिनिधीको नामावली सार्वजनिक गरिएको छैन। निर्वाचन समिति बनेको छैन। प्रतिनिधीको कार्ड बनेको छैन। विधिवत महाधिवेशन माग गर्नेहरु अहिले पनि आमरण अनशनमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ