arrow

प्यूठानका बाढी पहिरो प्रभावितको तथ्याङ्कमा विवाद

logo
सिटी पोख्रेल,
प्रकाशित २०७३ साउन २४ सोमबार
District-52-Pyuthan-hamrakura.jpg.jpeg
 प्यूठान। बाढी पहिरोले ५० जनाको मृत्यु, एकजना बेपत्ता तथा करोडौँको भौतिक पूर्वाधारमा क्षति भएको प्यूठानमा बाढी पहिरोको तथ्याङ्कमा विवाद देखिएको छ । 
 
जिल्लाका १६ वटा गाविस बाढी पहिरोबाट प्रभावित भए पनि जिल्लामा प्रभावितको यथार्थ विवरण तयार हुन नसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लामा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय, प्रभावित गाविसमा गाविस कार्यालय र रेडक्रस प्यूठान शाखाले फरक फरक तीनथरिका तथ्याङ्क तयार गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 
 
“जिल्लामा प्रभावितको फरक फरक तथ्याङ्क आएको छ, यथार्थ तथ्याङ्क नहुँदा राहत र उद्धारसँगै पुनःस्थापनाका लागि कार्य सञ्चालन गर्न समस्या भएको छ,” प्रजिअ पन्तले भने – “गाउँमा राजनीतिक दलहरुको प्रभावले तथ्याङ्क यथार्थ आउन नसकेको गुनासो आएको छ ।” जिल्लामा प्रभावित गाविसमा स्थानीय राजनीतिक दलहरुले सामान्य प्रभावित तथा प्रभावित नभएकालाई पनि प्रभावितको तथ्याङ्कमा पार्न खोजेको आरोप लगाएका छन् । 
 
जिल्लामा प्रभावितको यथार्थ तथ्याङ्क आउन नसक्दा समस्या भएको भन्दै प्रजिअ पन्तले आइतबारदेखि प्रभावित क्षेत्रमा राजनीतिक दलबिनाको विषयगत कार्यालयहरु सम्मिलित कर्मचारीहरुको समूह तयार गरी गाउँमा तथ्याङ्क लिन खटाइएको जानकारी दिए । 
 
बाढी पहिरोबाट ठूलो मानवीय क्षति भएको प्यूठानमा हालसम्म यथार्थ विवरण नआउँदा पीडितसम्म राहत प्रभावकारी ढङ्गले लैजान समस्या देखिएको छ । उता, दैवी प्रकोप उद्धार समितिले आफ्नै नेतृत्वमा प्रभावितको तथ्याङ्क सङ्कलन गरी पीडितको पहिचान र वर्गीकरण गर्नुपर्ने भए पनि समितिले प्रभावकारी काम गर्न नसक्दा यस्तो समस्या आएको राजनीतिक दलहरुले आरोप लगाएका छन् । 
 
जिल्लामा समन्वयसँगै दैवी प्रकोप उद्धार समितिले प्रभावकारी काम नगर्दा समस्या भएको भन्दै अतिप्रभावित फोप्ली गाविसका स्थानीयवासी तथा नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले जिल्लास्तरको समन्वयको अभावले समस्या देखिएको बताए । 
 
जिल्लामा प्रभावितहरुको यथार्थ तथ्याङ्क लिन जिल्ला दैवी प्रकोप उद्धार समिति र राजनीतिक दलहरुले प्रभावकारी भूमिका नखेल्दा अहिलेसम्म कति प्रभावित भन्ने विषयमा यकिन तथ्याङ्क आएको छैन । 
 
बाढी र पहिरोले पुर्‍याएको क्षतिका विषयमा जिल्लाका सञ्चारकर्मीसँग आज छलफल गरेका समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पन्तले समन्वयका काममा केही समस्या देखिएको र आगामी दिन त्यसमा सुधार गर्ने वतनबद्धता प्रकट गरे । उनका अनुसार जिल्लामा एकद्वार प्रणालीमार्फत राहत वितरण कार्यको सुरुवात भएको छ । 
 
समिति र राजनीतिक दलबीच आरोप प्रत्यारोप 
 
बाढी पहिरो प्रभावितको राहत र उद्धार कार्य प्रभावकारी रुपमा सञ्चालन नभएको प्यूठानमा जिल्ला दैवी प्रकोप उद्धार समिति र जिल्लाका राजनीतिक दलहरु बीच आरोप प्रत्यारोप सुरु भएको छ । 
 
दैवी प्रकोप उद्धार समितिले राजनीतिक दलहरुका कारण प्रभावकारी तथ्याङ्क नआएको र सो कारणले राहत तथा पुनःस्थापनामा समस्या देखिएको आरोप लगाएको छ । त्यस्तै राजनीतिक दलहरुले समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीले आफू मातहत निकायको प्रभावकारी परिचालन गर्न नसक्दा समस्या आएको आरोप लगाएका छन् । 
 
उद्धार कार्यमा यी दुईबीचको विवादले पीडितहरु थप पीडामा परेका छन् । जिल्लामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाले भिन्दाभिन्दै राहत सङ्कलन गरी केही स्थानमा राहतसमेत वितरण गरेका छन् । उनीहरुले यसभन्दा पहिला सामूहिक रुपमा राहत सङ्कलन र वितरण कार्य गर्दैआएका थिए । एमाले, माओवादी केन्द्र र नेकाले खाद्यान्न वितरण गरे पनि राष्ट्रिय जनमोर्चाले प्रतिपरिवार रु पाँच हजारका दरले आर्थिक सहयोग वितरण गरेको छ । 
 
प्रभावितहरु थप पीडामा 
 
बाढी पहिरोबाट प्रभावितका लागि जिल्ला तथा केन्द्रीयस्तरबाट विभिन्नखालका खाद्यान्न, लत्ताकपडासहितको राहत सामग्री आए पनि प्रभावितसम्म प्रभावकारी रुपमा वितरण नहुँदा उनीहरु थप पीडामा परेका छन् । 
 
अति प्रभावित गाविस फोप्लीमा बाढी पहिरोबाट प्रभावित नभएका छ परिवारले राहत लिएको तर अत्यन्त प्रभावित तथा घर बाढी पहिरोले बगाएको र बाढी पहिरोमा घरले च्याप्दा खुट्टा भाँचिएका प्रभावितले समेत राहत नपाएको भेटिएको छ । 
 
सुरुदेखि यथार्थ तथ्याङ्कको अभाव रहेको जिल्लामा फर्जी घरपरिवारले राहत लिएको तर परिवार सदस्य सबै गुमाएकी र खुट्टा भाँचिएका ६० वर्षीया वृद्धाले हालसम्म राहत नपाएको र प्रशासनको तथ्याङ्कमा उनको नाम पनि नरहेको भन्दै सञ्चारकर्मीहरुको छलफलमा स्थानीय तथा पत्रकार हरि भण्डारीले प्रजिअ पन्तको ध्यनाकर्षण गराए । 
 
त्यस्तै लुङको बहाने, लिघा, डामृ, स्याउलिबाङ, खवाङ क्षेत्रमा बाढी पहिरोबाट अवरुद्ध भएको सडक सञ्चालन नहुँदा यस क्षेत्रका प्रभावितहरु थप समस्यामा परेका छन् । उनीहरुसम्म राहत लैजान पनि समस्या भएको छ । त्यस्तै ठूलाबेँसी, अर्खा र रजवारामा पनि अवरुद्ध सडक सञ्चालनका लागि प्रयास नहुँदा यस क्षेत्रका प्रभावितहरु समस्यामा परेका छन् । 
 
जिल्लामा आएको पाल वितरण भएन 
 
आइतबार गृहमन्त्रालयले प्यूठानका बाढी पहिरो प्रभावितका लागि भन्दै पठाएको १५० थान परिवार सदस्यसहित बस्न मिल्ने पाल जिल्लामा वितरण हुन सकेको छैन । हालसम्म प्रभावितको यथार्थ विवरण नभएकाले वितरणमा समस्या भएको प्रजिअ पन्तले बताए। उनका अनुसार केही दिनमा यथार्थ विवरणसहित आवश्यकता हेरी वितरण गरिने छ । 
 
गृहमन्त्रालयले जिल्लामा पठाएको पाल तत्काल वितरण गरी आवश्यक भए थप माग गर्न आग्रह गरे पनि जिल्लामा आएका पाल नै वितरण हुन सकेको छैन । उता गाउँका बाढी पहिरो प्रभावित भने खुला आकासमुनि तथा विद्यालयमा बस्न बाध्य भएका छन् । 
 
 
त्यस्तै जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषमा जम्मा भएको लाखौँ रकमसमेत प्यूठानमा प्रयोग भएको छैन । बाढी पहिरोपीडितका लागि भन्दै प्यूठान गृह जिल्ला भएका र हाल जिल्ला बाहिर रहेका शैलेन्द्र पोख्रेल, माधव अधिकारी र खिमानन्द अधिकारीले पीडितका लागि पठाएको रु एक लाख छ हजार, युरोप तथा अन्य एसियाली मुलुकमा रहेका नेपालीबाट आएको रु एक लाख, प्यूठानी सेवा समाज अमेरिकाबाट आएको रु एक लाख ४४ हजार, प्यूठानमा रहेका रुकुमेली कर्मचारीहरुको सहयोग रु २० हजार, कर्मचारी सङ्गठनको रु ५० हजार रु ६० र कालिका आवासीय उच्च माविले कोषमा जम्मा गरेको रु ३० हजार हालसम्म प्रयोग भएको छैन । 
 
मृतक सङ्ख्या ५० 
 
प्यूठानमा असारपछि आएका बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५० जना पुगेको छ । अझै एकजना बेपत्ता रहेको बताइएको छ । मृतक र बेपत्ता परिवारका सदस्यलाई राहत र उद्धारकार्य जारी राखिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 
 
जिल्लामा बाढी पहिरोबाट रु ९० करोडसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ