काठमाडौ । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरमा रहेका सातै जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवजात शिशुसहित एउटै परिवारका चार जना रहेका छन् ।
गोरखाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमती अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ आएको थियो ।
हेलिकोप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत थिए । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकोप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकोप्टरका चालक रञ्जन लिम्बूको समेत दुर्घटनामा मृत्यु भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको एयर ट्राफिक कन्ट्रोलसँग नुवाकोट पुग्दा अन्तिम सम्पर्क भएको बताएइको छ । सम्पर्क विहिन भएको केही घण्टापछि हेलिकोप्टर नुवाकोटको मधानपुर ९ बेतिनि जंगलस्थित चुच्चे भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।