काठमाडौं। नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रतिनिधि विबादका कारण समयमा नै बन्दसत्र सुरू हुन नसकी मंगलबार दिउसो २ बजेसम्मको लागि स्थगन भएको छ । सबैले आ–आफ्नो पक्षबाट आफ्नो गुटको आधिकारिक उम्मेदवारको पहिचान गर्नको लागि विद्यार्थी नेताहरू आफू निकट नेताको घरमा धाउने क्रम अझ तिब्र बनेको छ।
शिर्ष नेताहरु पनि नेविसंघलाई आफ्नो पोल्टामा ल्याउन आफ्ना गुटका प्रत्यासीहरुलाई मिलाएर साझा उम्मेदवार बनाउन प्रयासरत भए पनि नतिजा निकाल्न सकेका छैनन् । देउवा पक्षले नैनसिह महर, जीतजंग बस्नेत, सरोज थापा लगायतलाई मिलाउन अन्तिम कसरत थालेको बताइएको छ। त्यसैगरी मनोजमणि आचार्य र दिपक भट्टराई, निलकण्ठ उप्रेतीलाई मिलाउने प्रयास रामचन्द्र समुहले गरेको छ। सिटौला नजिक देखिएका कुन्दन काफ्ले समूहलाई समेत मिलाएर लान सके निर्वाचन जित्न सकिने भन्दै देउवा समूहले उनीहरुलाई महामन्त्री दिएर मनाउने कसरत थालेको बताइन्छ। तर सिटौला समुहबाट एक मात्र उमेद्वार रहेका काफ्ले सबैभन्दा बलियो उमेद्वार भएको उनी निकटहरु बताउँछन्। उनी पनि आफू चुनावी मैदानमा खडा भएको र कसैसँग समिकरण बनाएर मोलमोलाइका लागि नआएको बताउँछन्।
यसैबीचमा पार्टी सभापति शेर बहादुर देउवा निकट पक्षबाट भने आधिकारिक उम्मेदवार बन्नको लागि सहमति नजुटेपछि पाँचै जना उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन्। अहिलेसम्मको स्थितिमा थप छलफल गरेर एकजना मात्रै आधिकारिक उम्मेदवार उठाउने तयारी गरिरहेको भएपनि देउवा पक्षको हर्ताहर्ताको रूपमा रहेका नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री विमलेन्द्र निधी उपत्यका बाहिर गएको कारणले बैठक बस्न नसकेको देउवा निकट स्रोतले जानकारी दिएको छ। उनी नेपाली काँग्रेसका योद्धा भूविक्रम नेम्वाङलाई श्रद्धाञ्जली दिनको लागि झापा गएको र अपराह्न ५ बजे काठमाडौं फर्किने कार्यक्रम भएकोले पनि उनी आएपछि मात्रै यस विषयमा कुरा अगाडि बढ्ने देउवा निकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार देउवा निकट उम्मेदवारका आकांक्षीहरूबीच एकल रूपमा भेटवार्ता भएको भएपनि सामूहिक वार्ता शनिबारपछि अहिलेसम्म भएको छैन। देउवाले शनिबार बेलुकी पाँचै जना उम्मेदवारहरू जीतजंग बस्नेत, नैनसिंह महर, सरोज थापा, राजीव ढुङ्गाना र रत्न कार्कीलाई समेत बोलाएर एकआपसमा छलफल गरेको या नगरेको भनेर प्रश्न सोधेका थिए। तर, एकआपसमा छलफल नभएको भनेपछि एक आपसमा छलफल गरेर भेट्न भन्दै महाधिवेशनको उद्घाटन गरेपछि सबैलाई बोलाउने भनेपनि देउवाले अझैसम्म पनि यी आकांक्षीहरूलाई बोलाएका छैनन्। यही भेटमा सामुहिक फोटो समेत खिचाएर निस्किएका अध्यक्षका आकांक्षीहरूबीच त्यसपछि पनि अहिलेसम्म छलफल भएको छैन्। भेटका क्रममा सभापति देउवाले तरूण दल या त पार्टीमा समेत स्थान दिने बताए पनि सबैले अध्यक्षकै पदमा आकांक्षा देखाएपछि कुरा मिल्न सकेको थिएन।
देउवा निकट स्रोतका अनुसार आज साँझ यो विषयमा कुरा टुङ्गो लाग्ने सम्भावना रहेको भएपनि सबैपक्ष आ– आफ्नै तालमा डम्फू बजाउन थालेपछि देउवा पक्ष भित्रै समेत आधिकारिक उम्मेदवार छनोटको लागि समस्या सिर्जना भएको छ। बैठकमा अहिले तेस्रो धारको रूपमा आफूलाई उभ्याएको कुन्दन काफ्ले टोलीलाई साथमा लिँदा फाईदा हुन्छ कि नलिँदा भन्ने विषयमा पनि छलफल भएको थियो। पाँच जना देउवा निकट उमेद्वारहरु भएपनि देउवा निकट तथा खुम बहादुर खड्काको उमेद्वारको रुपमा आएका शुभराम बस्नेत पनि मैदानमा डटिरहेका कारण देउवा पक्षलाई उमेद्वारको टुङगोमा पुग्न गाह्रो भएको छ। एक अर्कालाई छोड्न लगाउन पार्टी नेतृत्वबाट दवाव भएपनि उमेदवारहरु टसकामस नभएपछि नेतृत्व पनि समस्यामा परेको हो।