arrow

योजना आयोगका उपाध्यक्ष डा खतिवडाले दिए राजीनामा

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
yubaraj.jpeg.jpeg
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले आजदेखि लागू हुने गरी राजीनामा दिएका छन् । 
 
प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र पठाएर राजीनामा दिइएको उपाध्यक्ष डा खतिवडाले राससलाई जानकारी दिए । “प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा उहाँलाई भेट्न सकिएन, त्यसकारण पत्र पठाएर राजीनामा दिएको छु । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने मनशायका साथ मैले मार्गप्रशस्त गरेको हुँ । अरु सदस्यले के गर्नुभयो, मलाई थाहा भएन”, डा खतिवडाले भने । 
 
नौ महिनाको आफ्नो कार्यकालमा १४औैँ योजनाको आधारपत्र तयार पारिएको र सो आधारपत्र संविधान कार्यान्वयनमा नै केन्द्रित रहने उल्लेख गर्दै उनले सुरुआतका समयमा भारतको अघोषित नाकाबन्दीले पारेको प्रभाव कम गर्न केन्द्रित रहेको बताए । 
 
यस्तै दीर्घकालीन विकासको आधार तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरिएको तथा सन् २०३० सम्मको विद्युत्को मागको प्रक्षेपण एवम् आयोगको आन्तरिक सुधारका काममा विशेष ध्यान दिइएको जानकारी दिँदै उनले भने , “सन् २०३० सम्मको विकासको मार्गचित्र तयार भएको छ । त्यसले हाम्रो विकास कतातर्फ परिलक्षित हुन्छ भन्ने निर्धारण गर्दछ ।” 
 
यस्तै राष्ट्रिय गौरवका आयोजना एवम् ठूला पूर्वाधारको काम अगाडि बढाउन तथा सार्वजनिक, निजी र सहकारीबीचको साझेदारी एवम् त्यसको आधारपत्र निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले आगामी दिनमा आउने उपाध्यक्षलाई काम गर्न सहज हुने उनको भनाइ छ । यस्तै सुरक्षा मुद्रण प्रणाली स्थापना गर्ने काम पनि अगाडि बढेकाले त्यसले मुलुकलाई फाइदा गर्ने डा खतिवडाको भनाइ छ । 
 
बजेट आउँदा समेत योजना नआउने प्रवृत्तिलाई हटाएर पहिला योजना र त्यसपछि बजेट आउने सुल्टो अवधारणालाई संस्थागत गरी क्षमता अभिवृद्धि एवम् विकास प्रक्रियाको मोटो खाका समेत बनाइएको उनले उल्लेख गरे । आयोगमा नेकपा(माओवादी केन्द्र)का तर्फबाट नियुक्त सदस्यबाहेक अन्य सदस्यले पनि राजीनामा दिएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ