एजेन्सी । बार्सिलोनाका उपाध्यक्ष जोर्षी मेष्ट्राले हालै जारी भएको युइएफएले सिजन सन् २०१५–०१६ को लागि निकालेको शीर्ष ३ खेलाडीको सूचीमा बार्सिलोनाका स्टार खेलाडीद्वय लियोनल मेसी र लुइस सुआरेज नपर्नु लाई आश्चर्यजनक तथा अविश्वसनीय रुपमा लिएको बताएको छन्।
हालै सार्वजनिक भएको उक्त अवार्डको लागि छनोट भएका खेलाडीको शीर्ष ३ मा रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डो तथा ग्यारेथ वेल र एथ्लेटिको मड्रिडका एन्थोनी ग्रिजमान परेका थिए । युइएफए उत्कृष्ट खेलाडी घोषणा यही अगष्त २५ मा हुनेछ।
सो सिजनामा रोनाल्डो तथा वेलले आफ्नो क्लबलाई च्याम्पियन्स लिग जिताएका थिए भने, रोनाल्डोले पोर्चुगललाई युरोकप जिताउँदा वेलले वेल्सलाई सेमिफाइनल सम्म पुर्याएका थिए।
यस्तै, एन्थोनी ग्रिजमानले समेत आफ्नो क्लब तथा देशलाई च्याम्पियन्स लिग तथा युरोकपको फुटबलको फाइनलसम्म पुर्याएका थिए।
यस्तै बार्सिलोनालाई १५–१६ को सिजनमा युइएफए सुपर कप, ला लिगा, कोपा डेल रे तथा फिफा क्लब विश्वकप गरी ४ महत्वपूर्ण उपाधि दिलाउने क्रममा सुआरेज तथा मेसीले निर्णायक प्रदर्शन गर्दै सबै खाले औपचारिक प्रतियोगितामा क्रमश ५९ तथा ४१ गोल गरेका थिए ।
मेसीले आफ्नो प्रेरणामा अर्जेन्टिनालाई भने हालै अमेरिका मा सम्पन्न कोपा अमेरिकाको फाइनल सम्म पुर्याएका थिए। फाइनलमा चिलीसँग पराजित हुन पुगेपछि उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले अर्जेन्टिनाको लागि सर्वाधिक ५५ औं गोल समेत गरेका थिए ।
कसरी छानिन्छ खेलाडी ?
युरोपीयन क्लबमा आवद्ध खेलाडीहरुबीच हरेक सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १० खेलाडीको सूची सार्वजनिक युइएफएले गर्ने गर्दछ। त्यसपश्चात १० खेलाडीबीच पहिलो चरणको मतदान सुरु हुन्छ ।
उक्त मतदानमा ‘युरोपियन स्पोर्ट मिडिया’मा आवद्ध ५४ जना खेलकुद पत्रकारले मत हाल्न पाउदँछन्। पहिलो चरणमा सर्वाधिक मत पाउने शीर्ष ३ खेलाडी फाइनल राउण्डका लागि छनोट हुन्छन्। फाइनल राउण्डमा पुगेका खेलाडीबीच पुनः मतदान गरिन्छ।
उक्त मतदान प्रत्यक्ष निगरानीमा विधुतीय माध्यम बाट हुने गर्दछ । जसमा सर्वाधिक मत पाउने खेलाडीले सिजनको युइएफए ‘बेष्ट प्लेयर’को अवार्ड प्राप्त गर्दछ।