रियो । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा मंगलबार नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १२ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्णपदकधारी जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका जीतबहादुर मोक्तान र पौडीबाज शिरिष गुरुङ भिड्दैछन्।
फुपुले ६३ केजी मुनी तौल समूहमा क्युबाकी मारिसेट इस्पेनोसासँग प्रतिस्पर्धा गर्दैछिन्। उनको खेल नेपाली समयअनुसार बेलुका ६ बजे हुँदैछ। फुपुबाट नेपालले धेरै आशा राखे पनि क्युबाकी खेलाडी झनै सशक्त भएकाले अर्को चरण प्रवेशको सम्भावना कमै रहेको बताइन्छ ।
यस्तै, आर्चरी खेलाडी जीतबहादुर मोक्तानले साँझ ५.३० को समयमा खेल्दैछन् । उनले राउन्ड अफ ३२ मा भारतका अतानु दाससँग पुरुष एकल स्पर्धामा भिड्ने छन्।
र्याङकिङ राउन्डमा उनको प्रदर्शन कमजोर भएपछि जीतबहादुरले अतानुसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हो। ६४ खेलाडी सहभागी र्याङकिङ राउन्डमा जीतबहादुर ६० औं स्थानमा पुगेका थिए। उनले कूल ६ सय ७ को मात्र स्कोर गरे।
भारतका अतानुले भने कूल ६ सय ८३ अंक स्कोर गरेका थिए। अतानु र्याङकिङ राउन्डमा पाँचौ स्थान बनाउन सफल भएका थिए।
यो स्पर्धा जितेको खण्डमा जीतबहादुर अन्तिम १६ मा प्रवेश गर्नेछन्। तर निकै कठिन प्रतिद्धन्द्धी पाएकाले उनको कीर्तिमान रच्ने सम्भावना कमै छ । जीतबहादुरले आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकेका छैनन् ।
त्यस्तै राष्ट्रिय कीर्तिमानधारी पौडीबाज शिरिषको सय मिटर फ्रिस्टाइल स्पर्धा मंगलबार राति ९.४७ बजे सुरु हुनेछ ।
यो स्पर्धामा शिरिषको नाममा राष्ट्रिय कीर्तिमान छ। उनले ५८.२२ सेकेन्डमा यो दूरी पुरा गरेका थिए। तर, ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेका अन्य खेलाडीभन्दा उनको समय खराब हो।
उनले पनि राष्ट्रिय कीर्तिमान तोड्ने बताएका छन् । यसअघि सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहले भने आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत तोड्न सकिनन् ।