काठमाडौं । नेविसंघको महाधिवेशन स्थलमा घुसपैठ भई ढुंगाहानिएपछि स्थिति तनाव ग्रस्त भएको छ ।
महाधिवेशनको बन्द सत्र सुरु हुन केही समय मात्रै बाँकी रहँदा अध्यक्षका प्रतियासी कुन्दन काफ्ले समूहलाई लक्षित गरी ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त भएको हो । नेविसंघका नेता तथा अध्यक्षका प्रत्यासी काफ्लेको नेतृत्वमा युवराज पाण्डे डिल्लीराम सुवेदी एलवी कार्की कृष्णकुमारी बस्नेत लगायतले नेतृत्व गरेको प्रदर्शनमाथि अचानक ढुङगाप्रहार गरिएको थियो।
ढुंगा लागेर पत्रकार विपिन अधिकारी घाइते भएका छन् । आफ्नो समूहलाई ढुंगा हानेपछि आक्रोशित विद्यार्थीहरु अघि बढ्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको छ ।
विद्यार्थीहरुले प्रहरीको लाठीचार्ज र नेविसंघको नेतृत्वको भूमिकाको विरोध गरेका छन् ।
विद्यार्थीहरुले रंजीत कर्ण नेतृत्वका कार्यसमितले गरेको फर्जी मतदाता नामावलीको विरोधमा समेत नारा लगाएका छन् । भृकुटीमण्डपको मूल गेट अघि तनाव भएको हो । भित्र भने प्रवेश गर्न दिइएको छैन ।
मतदाता नामावली टुंगो लगाउन पार्टी र विद्यार्थी नेताहरु निरन्तर छलफलमा रहेपनि अझै टुंगो लाग्न सकेको छैन । अहिले पनि नेताहरु पार्टी सभापति शेरबहादुर देउवाको निवासमा छलफलमा जुटेका बताइएको छ ।
११ जिल्लाको महाधिवेशन प्रतिनिधि विवाद टुंगिएपछि आजै दिउँसो बन्द सत्र सुरु गर्ने तयारी रहेपनि कुरा मिल्न सकेको छैन । विद्यार्थीहरु आक्रोशित भएका छन् ।
पछिल्लो समय स्थिति सामान्यतर्फ उन्मुख भएको र प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीको संख्या कम भएको भन्दै फेरि बढाउन माग गरिएको सुरक्षा संयन्त्रले जनाएको छ । यस्तै, विद्यार्थीको भेला हुने क्रम भने जारी छ ।