arrow

कम्युनिष्टले बुनेको भ्रम र उत्तेजनाको राजनीति चिर्न कांग्रेस गाउँ जाँदै – अजयबाबु शिवाकोटी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
ajayababu-shiwakoti-2078-11-24.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कम्युनिष्टले बुनेको भ्रम र उत्तेजनाको राजनीति चिर्न पार्टी गाउँ–गाउँ जाँदै गरेको बताएका छन् । नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका वडा नम्बर २ दोलखा काठमाडौं सम्पर्क समितिको काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा कम्युनिष्टहरुले अफबाह फैलाएकाले त्यसलाई चिर्दै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी नेताहरु गाउँ–गाउँ जान लागेको बताएका हुन् । 

पार्टीले यही फागुन २९ गतेदेखि एक महिने घर–घर जाऔं कांग्रेस जिताऔं अभियान संचालन गर्दैछ । आफूलाई पार्टीले मुस्ताङमा खटाएको जानकारी दिँदै उनले कांग्रेसलाई हार्ने र नजित्ने छुट नभएको भन्दै दोलखाका कालिञ्चोक गाउँपालिका जित्ने, बाब्रे जित्ने कुरामा शंका नगरिकन लाग्न आग्रहसमेत गरेका छन् । 

कम्युनिष्टहरु फैलाएको एमसीसीको अफबाह र यो पारित नगर्दा कस्तो अवस्था निम्तिन सक्थ्यो भन्दै विस्तृतमा जानकारीसमेत गराएका छन् । उनले सम्बोधनका क्रममा भने, ‘विदेशमा गएर कमाएकाहरुले पठाएको पैसाले छ महिनालाई पनि सामान किन्न नपुग्ने कोष छ । धन्य एमसीसीमा नेपाली कांग्रेसले लिएको अडानले यो परिवर्तित विदेशी मुद्रा अब अलिकति बलियो हुने अवस्था आएको छ ।’

शिवाकोटीले अगाडि भने, ‘अर्थतन्त्रलाई टाँट पल्टाउने, त्यसपछिको गडबडको अवस्थाको बीचमा नेपालमा कम्युनिष्ट फस्टाउँछ भन्ने एनार्कीको मलजल गर्ने काम कम्युनिष्टहरुले गरिरहेका छन् । यस्तो सन्देश गाउँ गाउँमा लैजानु पर्दछ । यदि ठाउँ ठाउँमा सुसूचित बहस हुन्थ्यो भने आजको दिनमा हामीहरु बीचमा यो खालको भ्रम रहँदैनथ्यो । हामी कम्युनिष्टको भ्रम फैलाउने आइडियोेलोजीबाट बढी पीडित भयौं । त्यसकारण अहिले यो अवस्था भइरहेको छ ।’

अहिले कांग्रेसले गाउँ गाउँमा गएर युवादेखि वृद्धवृद्धालाई एमसीसीको बारेमा नबुझाएसम्म अलमल हुने भन्दै उनले भने, ‘खासगरी आजको दिनमा जति स्थानीय मुद्दा छ त्यत्तिकै महत्वपूर्ण एमसीसीको मुद्दा पनि छ । अझ १८ देखि २३ वर्ष उमेरका नयाँ मतदातालाई त यो कुरा अझ भन्न जरुरी छ आफ्ना बुबाआमालाई भन्न । आज सबैभन्दा बढी सामाजिक संजालमा नयाँ युवाहरु बढी अराजक भइरहेका छन् । सत्य यो रहेछ र तथ्य यो रहेछ भनेर बताउन जरुरी छ । भ्रम छर्नेहरुलाई त्यसको जवाफ दिन सक्नुपर्छ ।’

चिनियाँ ऋणले समस्याउन्मुख भएको टिप्पणी गर्दै उनले भने, ‘हामीले पोखरा विमानस्थल वा भैरहवा विमानस्थल वा टनेलमा हेर्नुस् हामीले ऋणमा लिएर काम गरिरहेका छौं । अन्ततः यस्तो ऋण लिएर काम गर्नु भनेको ऋणको पासोमा पर्नु हो । दोस्रो श्रीलंका बन्नु हो । श्रीलंकाको हबन्टोटा बन्दरगाह आज चीनले आफ्नो झण्डा गाडेर ९९ वर्षका लागि लिइसक्यो । जुन बन्दरगाह चीनले बनाइदियो आज त्यही बन्दरगाह श्रीलंकाले पैसा तिर्न सकेन भनेर चीनले कब्जा गर्यो । आजको दिनमा पोखरा विमानस्थलको वर्षको ५० करोड त ब्याज तिर्नुपर्छ । त्यो साँबा ब्याज तिर्न सकेनौं भने छिमेकीको झण्डा गाडेर उतैको हुन सक्ने अवस्था सिर्जना भएको छ ।’

चिनियाँ ऋणले कम्युनिष्ट नेताहरुलाई कतै पनि चित्त दुखाइ नभएको भन्दै नेता शिवाकोटीले अगाडि भने, ‘यो कुराको कम्युनिष्टहरुलाई कहीं चित्त दुखाइ छैन । किनभने त्यो त चीनको कम्युनिष्ट पार्टीको ऋण लिएर गरेको हो । त्यो आजको दिनमा दुई प्रतिशत भनिए पनि १४ प्रतिशत हुने रहेछ । २५ वर्षपछि परिवर्तित विदेशी मुद्राको त्यसलाई समायोजन गर्ने हो भने ३०० प्रतिशत हुने रहेछ । यो त मिटर ब्याजभन्दा पनि चर्को रहेछ । तर यो कुराको झलनाथ खनालले किन विरोध गर्दैनन् जसले टाउको फुटाउने कुरा गर्छन् ? किनभने झलनाथका छोराहरुले यसको टेन्डर पाइराखेका छन् । यसको कमिशन बुझिरहेका थिए झलनाथ खनालहरुले ।’

कम्युनिष्टहरुको यो गलत व्याख्यालाई मतदाता सामु पुर्याउने काम कांग्रेस नेता तथा कार्यकर्ताको भएको भन्दै उनले अगाडि भने, ‘आज हामीले यस्तो कुरा मतदाताको बीचमा पुर्याउने कि नपुर्याउने ? यो कुरा मतदाता सामु पुर्याउनु जरुरी छ । यस्ता कुराहरु मतदाता सामु पुर्याउने हो भने अहिले कम्युनिष्टहरुले फिँजाएका प्रोपगाण्डाहरु चिर्न सक्छौं । यही कुरा चिर्नका लागि नेपाली कांग्रेसले आफ्ना विचार, आदर्श र सिद्धान्त सँगसँगै एमसीसीको विषयलाई समेत समेटेर तयार गरिएको पुस्तिका देशभरका लाखौंलाख कार्यकर्ता सामु पुर्याउँदै छौं ।’  

उनले एमसीसीबारे भने, ‘हिजोको दिनमा माधवकुमार नेपाल नेतृत्वमा भएका बेलामा हामीले विश्व बैंकले दिएको सहयोग रोक्यौं । आज फेरि तिनै कम्युनिष्टहरु एमसीसीलाई अवरोध गर्न खोजे । एमसी सडक र हाइड्रोको परियोजना हो । ट्रान्समिसन लाइन बनाइदिने परियोजना हो । हामीले भएको बिजुली विदेशमा बेच्ने हो । भूगोलको कारणले चीनमा बेच्न सकिरहेका छैनौं । भूगोलको हिसाबले पानी पनि उतै बग्ने भएकाले भारततिर बेच्ने कुरा भयो । भुटान अथवा बंगलादेश बेच्नुपर्ने भयो भने भारतकै स्वीकृत लिनु पर्ने भयो । तपाईले घरमा बिजुली ल्याउन छिमेकीको आँगनमा पोल गाड्नु पर्यो भने तपाईले छिमेकीको स्वीकृति माग्नु पर्छ कि पर्दैन ? त्यस्तै हामीले बिजुली बेच्नका लागि ट्रान्समिसन लाइन राख्नका लागि भारतको स्वीकृति लिन पर्छ कि पर्दैन ? यो त अन्तर्राष्ट्रिय सीमाको कुरा भयो । अनि स्वीकृत लिँदा हाम्रो स्वाधीनता र राष्ट्रियतामाथि ठूलो खेलबाड गरियो भन्ने आशयबाट जसरी कम्युनिष्टहरुले प्रोपगण्डा गरे यो गलत हो । प्रोपगण्डा गर्नेलाई पनि थाहा छ यो हामीले सही गरिरहेका छैनौं । हामीले अब यी कुराहरु चिर्न जरुरी छ । यो कथित राष्ट्रवादीहरुले फिँजाएको भ्रम चिर्न जरुरी छ ।’

मागेर देशको अर्थतन्त्र नचल्ने तर देशको स्थिति पनि हेर्नुपर्नेतर्फ जोड दिँदै नेता शिवाकोटीले भने, ‘हामीले मागेरै अर्थतन्त्र चल्छ त ? मागेरै चलाउने भयो नेपाली कांग्रेस नेतृत्वको सरकारले भन्ने हल्ला पनि चलाइएको छ । मागेर चल्ने वा नचल्ने कुरा होइन ६० अर्बको विषयले पूरै कायापलट हुन्छ भन्ने पनि हैन । तर हाम्रो स्थिति के छ भनेर हेर्नुपर्नेछ । हाम्रो अहिले करिब १५–१६ खर्बको बजेट छ । जसमा १० खर्ब जति त तलब भत्तामा जान्छ । बाँकी रहेको ५–६ खर्ब विकास बजेट हो । विकास बजेट भनेको विदेशबाट आउने सहयोग, अनुदान र ऋण हो । त्यो अनुदान र ऋण हामीले लिन सकेनौं भने के हुन्छ हालत ?’ 

एमसीसी स्वीकार नगरेको भए दातृ निकायले नेपाललाई पत्याउने अवस्था नरहेकोतर्फ इंकित गर्दै शिवाकोटीले भने, ‘अस्ति मात्रै निर्वाचन आयोगले चुनाव गर्ने भनेर त्यत्रो रकमको माग गरेको छ । चुनाव गराउन बजेट चाहियो । विदेशी कुटनीतिक नियोगका प्रतिनिधि र राजदूतलाई बजेटबारे भनियो । राजदूतहरुले एमसीसीले सित्तैमा दिएको ६० अर्ब रुपैयाँ त तपाईहरुलाई चाहिएको छैन तपाईहरु त आफै गर्न सक्नुहुन्छ गरे भैगो भनेर जवाफ दिए । हामीले एसीसी नलिएको अवस्था हुन्थ्यो भने अब उप्रान्त विदेशीहरुले अनुदान, सहयोगमा मुख बुझो लाग्ने अवस्था थियो । यो अवस्थालाई नेपाली कांग्रेसले बचाएको छ ।’

निर्वाचन अभियानमा कांग्रेस केन्द्रीय सदस्यहरुलाई जिल्लाको जिम्मा [विवरणसहित] 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ