काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने थप पाँच मन्त्रीको टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको केन्द्रीय कार्यालय बैठकले मन्त्रीहरुको टुंगो लगाएपनि अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाललाई दिएको छ ।
प्रधानमन्त्रीको प्रेस सेन्टरका प्रतिनिधि मनोहरि तिम्सिनाले भने, ‘बैठकमा सरकारमा पार्टीका तर्फबाट मन्त्री कसरी पठाउने भन्नेबारे छलफल भयाे । बैठकले मन्त्रीहरुको अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाललाई दिएको छ ।’
छलफलमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अर्थमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुनलगायतका नेता सहभागि थिए ।
सहमति जुटेका व्यक्तिहरुको नामलाई केन्द्रको स्थायी समितिले अनुमादेन गर्ने बताइएको छ । सहमति जुटेका नामहरुमा जनार्दन शर्मा उर्जा, प्रभु साह कानुन तथा न्याय, डीआर पौडेल शिक्षा, हितराज पाण्डे संघीय मामिला तथा स्थानीय विकास, राम कार्की सूचना तथा सञ्चारमन्त्री रहेका छन् ।
शर्मालाई स्थानीय विकास मन्त्रालय लिन उनी निकटस्थहरुले सुझाएका छन् । यद्यपि, उनी जुन मन्त्रालय भएपनि फरक नपर्ने बताउँदै आएका छन् । यद्यपि, अहिलेको अवस्थामा उर्जा मन्त्रालयलाई समेत महत्वपूर्ण मन्त्रालयका रुपमा हेरिएको छ ।
महाधिवेशन भदौमा नहुने छाँट
बैठकले भदौं २ गते गर्ने भनिएको पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक भदौ १० देखि १५ को बीचमा गर्ने निर्णय गरेको छ । यसले पूर्व निर्धारित समयमा हुने महाधिवेशन अनिश्चित भएको छ । यसको व्यवस्थापन गर्ने जिम्मा समेत अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाललाई दिइएको उनको निजी सचिवालयले जनाएको छ ।