काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघभित्र अझै आन्तरिक शुद्धिकरणको ज्वाला सल्किरहेको छ । अहिले पनि विधिवत महाधिवेशनको मागमा परिवर्तनपक्षधर आन्तरिक विद्रोह गरिरहेका छन् । ता कि माउ पार्टी र संगठनको सुदृढिकरणका लागि ।
आज भन्दा ६ वर्ष अघि पनि संगठनमा विधिवत महाधिवेशनको माग गर्दै आन्दोलन चर्किएको थियो । सो समयमा तत्कालीन केन्द्रीय सदस्य युवराज पाण्डेयसहित ६ जनाले सामूहिक राजीनामा दिए ।
राजीनामाको कारण विधिवत महाधिवेशनको माग पूरा नहुनु नै थियो, पाण्डेले हाम्राकुरासंग भने, ‘हामीले आज मात्रै होइन हिजो पनि संगठनको आन्तरिक शुद्धिकरण र लोकतान्त्रिकरण लागि आन्दोलन गर्दै आएका हौं । संगठनलाई वैचारिक बनाउनु पर्दछ भन्ने हाम्रो भनाई हो ।
हामी युग सुहाउँदो विद्यार्थी आन्दोलन र शैक्षिक आन्दोलनको पक्षमा छौं ।’ विद्यार्थी राजनीतिलाई गौण सम्झिने परम्परा तोडेर यसैलाई भोलीको पार्टी नेतृत्वको आधार बाउन सक्नु पर्नेमा उनले जोड दिए ।
अहिलेका अधिकांश पदाधिकारी र पार्टी नेतृत्व पनि हिजोको विद्यार्थी आन्दोलनकै उपज भएकाले समेत यसलाई कमजोर बनाउनु हुँदैन– पाण्डेयले भनेका छन् ।
उनले संगठनका केही साथीहरु अझैपनि संगठनको लोकतान्त्रिकरणका लागि आमरण अनसन बस्नु परेको सुनाउँदै भने, ‘अहिले पनि हामी विगतकै लडाई लड्नु दुर्भाग्य हो ।’ यसमा पार्टी नेतृत्व गम्भीर हुनै पर्दछ । नेविसंघको जारी महाधिवेशनको बन्द सत्र विधिवत महाधिवेशनको मागकै विषयले निर्धारित समयमा हुन सकेको छैन । पटक–पटक स्थिगित भएको छ । पाण्डेय महामन्त्रीका दोवेदार हुन् ।
स्याङजाको आलमदेवी–७ सतुकामा जन्मिएका पाण्डे ३७ वर्ष कटे । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट उनले अंग्रेजी साहित्यमा एम.ए.गरेका छन् । पाण्डेय २०५९ असोज १८ पछि भएका सबै खाले आन्दोलनमा विश्व विद्यालयतर्फबाट नेत्व गर्दै होमिए । सो बखत पटक–पटक प्रहरी हिरासतमा परेको पाण्डेय सुनाउँछन् । यस्तै, २०६२–०६३ को जनआन्दोलनमा समेत उनले विश्वविद्यालयबाट नेतृत्व गरे ।
पाण्डेयले २०४८ सालमा स्याङजाको भवानी मावि दिर्घाको विद्यालय इकाई समितिको सचिवबाट नेविसंघको राजनीति थालेका हुन् । २०५०–०५१ मा सोही विद्यालयको इकाइ समितिले अध्यक्ष हुँदै ०५२–०५३ मा त्रिभुवन क्याम्पस पाल्पामा ‘पाल्ला–स्याङजा’ सम्पर्क समितिको सदस्य भए । ०५५ मा सोही क्याम्पसको इकाई समिति सह–सचिव हुँदै ०५७ मा सचिव तथा ५८ मा निर्वाचित अध्यक्ष भए ।
०६० मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विश्वविद्यालय इकाइ समिति सदस्य र ०६२ मा विश्व विद्यालय इकाइ समिति सह–सचिव भए । पाण्डेय ०६२ को स्ववियु निर्वाचनमा विश्वविद्यालयको स्ववियु सदस्यका उम्मेद्वार पनि भए ।
उनी ०६४ मा चितवनमा भएको नेविसंघ १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा भारी मतले विजयी भए । ०६८ सम्म सोही केन्द्रीय समिति सक्रिय रहयो । यद्यपि, उनले २०६७ मा महाधिवेशनको माग पुरा नभएपछि राजीनामा ठोकिदिए ।
पाण्डेय लेखनमा पनि सक्रिय छन् । उनले अबको विद्यार्थी आन्दोलन र नेपाल विद्यार्थीसंघ पुस्तकको लेखन सम्पादन गरे । यस्तै, उनले रुपान्तरण, संविधान सम्बन्धि विभिन्न सुझाव पुस्तिकाको लेखन सम्पादन गरेका छन् ।