काठमाडौं। आमरण अनसनरत विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरी ढुङगेलको स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरुलाई सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार गर्नुपर्ने भएको छ । काठमाडौं मोडल अस्पतालमा आमरण अनसनसँगै उपचाररत सापकोटा र ढुङगेलको अवस्था निकै जटिल भएपछि दुवैलाई अस्पतालबाट सघन उपचारकालागि चावहिल स्थित ओम अस्पतालमा सारिएको छ।
अनसनकर्ता दुवैलाई नेपाली काँग्रेसका नेता गगन थापाले काठमाडौं मोडल अस्पतालबाट डिस्चार्ज गराई ओम अस्पतालमा लैजान सहजीकरण गरेका हुन्। नेविसंघका नेता कुन्दन काफ्ले उनीहरुलाई लिएर मोडलबाट ओम अस्पताल गएका थिए। साथमा युवराज पाण्डे वलदेव तिमिल्सिना डिल्लीराम सुवेदी लगायत कैयन विद्यार्थी नेताहरु पनि ओम गएका थिए। मोडल अस्पतालमा आइसीयु प्रबन्ध नभएपछि दुवैलाई ओम अस्पताल लगिएको हो।
सापकोटा र ढुंगेल नेविसंघको विधिवत महाधिवेशनको माग राख्दै करिब दुई हप्तादेखि आमरण अनसनमा छन। उनीहरूले विधि र प्रक्रिया अनुसार महाधिवेशन हुने प्रत्याभूति नभएसम्म मृत्युपर्यन्त आमरण अनसन नतोड्ने अडान राखेका छन्। उनीहरु आफूहरु बरु मर्न तयार रहेको बताएका छन्। नेविसंघ महाधिवेशन उद्घाटनमा जानु अघि अनसनमा रहेका विद्यार्थीलाई पार्टी सभापति शेरबहादुर देउवाले भेटी उनीहरूको माग सम्बोधन गरेरै मात्र निर्वाचन गराउने भने पनि तीन दिन बितिसक्दा पनि कुनै निर्णय हुन सकेको छैन।