काठमाडौं। युएफा सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। फाइनलमा स्पेनिश प्रतिद्वन्द्वी सेभिल्लालाई ३–२ ले पराजित गर्दै रियलले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी भएपछि थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा डानियल कार्भाहलले गोल गर्दै रियललाई जिताएका हुन्।
योसंगै युरोपा लिग विजेता सेभिल्लालाई झड्का लागेको छ। २१ औं मिनेटमा मार्को एसेन्सियोको गोलबाट रियलले अग्रता लियो । ४१ औं मिनेटमा फ्रान्को भाज्क्वेजले गोल गर्दै सेभिल्लालाई बराबरीमा ल्याए।
७२ औं मिनेटमा येभ्हेनी क्नोप्लियन्काको गोलबाट सेभिल्लाले अग्रता बनायो । ९० औं मिनेटमा गोल गर्दै सर्जियो रामोसले रियललाई बचाए र खेल २–२ को बराबरीमा ल्याए। त्यसपछि थपिएको ३० मिनेटको खेलमा कार्भाहलले गोल गर्दै रियललाई जिताए। थपिएको ३० मिनेटको चौथो मिनेटमै सेभिल्लाका थिमोथीले दोहोरो पहेंलो कार्ड पाएपछि भने १० जनामा समेटिएको थियो। यो जितसंगै ला लिगा सुरु हुनुअघि नै रियललाई हौसला मिलेको छ । रियल मड्रिडले सन् २०१२ पछि ला लिगा जितेको छैन ।