बालबालिकालाई के सिकाउने, कस्तो र किन सिकाउने ?
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा बाबुराम भट्टराईले बालबालिकालाई विशेष तरिकाले ज्ञान दिन आवश्यक रहेको बताएका छन् । आन्विका गिरीको पुस्तक ‘मेरी दिदी’को विमोचन कार्यक्रम डा भट्टराईले यस्तो बताएका हुन् ।
उनले के पढ्ने, किन पढ्ने भन्ने विषयको शुरुवात हामीले जानेको भनेको एक थोपा हो, हामीले जान्न बाँकी कुरा भनेको समुद्र हो भन्ने भनाइबाट सुरु गर्नु पर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई विश्व, ब्रहामण्ड र आफैलाई बुझ्न सिकाउनु पर्ने बताएका छन् ।
यस्तो पुस्तक विमोचन कार्यक्रममा नेता भट्टराईले राखेको विचार:
"के पढ्ने, किन पढ्ने भन्ने बिषयको शुरुवात म वैज्ञानिक न्यूटनको भनाइबाट शुरु गर्न चाहन्छु — हामीले जानेको भनेको एक थोपा हो, हामीले जान्न बाँकी कुरा भनेको समुद्र हो । यसको अर्थ हामीले जान्ने, पढ्ने भनेकै जान्नुपर्ने कुरा धेरै छ, मैलै जानेको छैन भन्नेबाट शुरु गर्नुपर्छ । त्यो नै प्राथमिक विन्दु हो । हामीले हाम्रा छोराछोरीलाई सिकाउने भनेको यो विश्व, ब्रहामण्ड र आफैलाई बुझ्न सिकाउने नै हो । म आफ्नो नातिको धेरै कुरा सामाजकि संजालमा राखिराख्छु । धेरैले मलाई पूर्वप्रधानमन्त्रीले आफ्नो नातिको कुरा के राखेको होला भनेर पनि प्रतिक्रिया दिनुहुन्छ तर मैले उसले सिकिराखेको कुरा राख्नुको अर्थ ऊ भविष्यको नागरिक भनेर हो, मेरो नाति भनेर मात्र होइन । मैले उसलाई दिएको पहिलो उपहार पुस्तक नै हो । सन् २०२० मा जन्मेको ऊ २२ औं शताब्दीको नागरिक हो । त्यसैले ऊ र ऊजस्ता बालबालिका हाम्रो पुस्ताभन्दा उत्कृष्ट हुनुपर्छ भन्ने हो ।
म भन्दा तपाईँ अभभिावक र शिक्षक ज्ञानी हनुहुन्छ । मेरो एउटा बुझाइ के छ भने हामीले हाम्रा छोराछोरीलाई सही ढंगले सिकाउन पनि जान्नुपर्छ । मैले किन सिकाउने वा पढ्ने त भने तर के सिकाउने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । जे सत्य छ, तथ्यपरक छ त्यहि सिकाउने हो । हामीले हिजो जे सुन्यौ, त्यहिँ सिकायौं । गलत पनि सिकायौं । तथ्यमा नगइ सिकायौं । हाम्रो उखानै छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको । बुढाको कुरा सुनेपछि त बुढाले पुरानो कुरा मात्र गर्छ । जबकी हामी त भवष्यिमा बाँच्नु छ । यति ठूलो ज्ञान—विज्ञानको आविष्कार छ । प्रविधीको यति धेरै विकास भइरहेको छ । ज्ञानका यति धेरै क्षेत्र खुलिरहेका छन् । त्यो विषय पो सिकाउने हो । त्यसैले हामीले कुरा सुन्नु बुढाको होइन, कुरा सुन्ने त हामीले वैज्ञानिकको हो, चिन्तकको हो । आविष्कारकहरुको हो । जसले नयाँ नयाँ कुराको खोजी गर्छन्, तिनको कुरा सुन्ने हो । त्यसैले मेरो आग्रह के हो भने हामीले हाम्रा छोराछोरीहरुलाई वैज्ञानिक चेत दिनु पर्छ । कुनै प्रकारका मुढआग्रहरु, अवैज्ञानिक मान्यताहरु, विज्ञानबाट पुष्टी नहुने कुराहरु, जीवन र जगतका अनुभवबाट गलत पुष्टी भएका कुराहरु हामीले बालमष्तस्किमा हाल्दिनु हुँदैन । उनीहरुलाई खुला छोडिदिनुपर्छ । विज्ञानले पुष्टी गरेका वैज्ञानिक कुरा मात्र सिकाउनु पर्छ । र त्यस्तै किताब पढ्न उत्प्रेरित गर्नुपर्छ ।
अर्को कुरा हामी यो समाजमा छौं । समाजमा त वर्ग, जाति, धर्म, क्षेत्र, लिंग, समुदाय अनेकमा हामी मान्छे बाँडिएका छौ । हाम्रा रुपरंग फरक होलान् तर हामी सबै मान्छे हौं । हाम्रो औसत क्षमता बराबर छ । विज्ञानले भन्छ, हामी प्रत्येक मान्छे बराबर हौ । चाहे हामी होचो वा अग्लो वा गोरो वा कालो वा महिला वा पुरुष वा अन्य हौं । हामी सबैको औसत क्षमता बराबर हो । त्यसैले कोही सानो वा ठूलो हुँदैन । सबै मान्छे बराबर हुन्छन् । महलिा र पुरुषविचको विभेद, धनी र गरिबबीचको विभेद, जाति र रंग विचको विभेद, मधेश र पहाडमा बस्ने मान्छे बीचको विभेद, नेपाल र अन्यत्र बस्ने मान्छे विचको विभेद कुनै पनि हिसाबमा स्विकार्य हुँदैन । त्यो सत्य होइन । बैज्ञानिक होइन । हामीले बालबालिकामा बराबरीको सम्बन्धको चेत दिनुपर्छ । समानता र न्यायको कुरालाई बालबालिकाको मस्तिष्कमा हाल्दिनुपर्छ । त्यसैक्रममा आन्विका गिरीको ‘मेरो दिदी’ बालउपन्यासमा छोरा र छोरीबीचमा हामीले जसरी विभेद गर्छौ त्यसलाई उहाँले अत्यन्त रोचक र मार्मिक ढंगले राख्नुभएको छ । बच्चा जन्मदा छोरा वा छोरी हुनु कसैको छनोटको कुरा होइन । मैले छानेर म छोराको रुपमा जन्मेको होइन र उहाँले (लेखक गिरी) छानेर छोरीका रुपमा जन्मेको होइन । हाम्रा बा र आमा दुबैको हाम्रो बनोटमा ५०,५० प्रतिशतको हिस्सेदारी छ । यो कुरा विज्ञानले भन्छ । तर हामी बालाई बढी सम्मान गर्ने, बालाई बढी महत्व दिने, बाकै सन्तान हुँ भनेर परिचय गराउने गर्छौ । तर आमाको भूमिकालाई कम आँक्ने अर्थमा हाम्रो हुर्काइ हुन्छ जबकी हामी जन्मिनुमा आधा योगदान छ र अझ व्यवहारिक रुपमा लालनपालनमा आमाको बढी भूमिका हुन्छ । त्यसैले यस्तो लैंगिक विभेद ठिकै छैन भनेर उहाँले (लेखक गिरी) लेख्नुभएको छ ।
तेस्रो कुरा के पढ्ने भन्ने सवालमा हामी हाम्रा बच्चाहरुलाई तँ यो बन् भनेर भन्छौ । भर्खर जन्मेको बच्चालाई पनि हामी यो ठूलो भएपछि डाक्टर बन्छ, इन्जिनियर बन्छ, पाइलट बन्छ भनेर उसको बारेमा निर्णय गर्छौ र त्यहि कुरा उसको बालदिमागमा पनि हाल्छौ । हामी को हौ त्यसो भन्ने ? बच्चालाई सोच्न स्वतन्त्र छाड्नुपर्छ । बालबालिकाको मष्तिस्कको विकासमा हामीले योगदान गर्ने हो । बालबालिका हुर्कदै गएपछि उनीहरुका रुची के छन् ? मान्छेका त थुप्रै रुची हुन्छन् । हाम्रो मन मस्तिष्कमा विभिन्न रुचीहरु उत्पन्न हुन्छन् । त्यसैले भौतिक विज्ञानका कुरा, सामाजिक विज्ञानका कुरा, सौन्दर्यशास्त्रका कुरा यी सबै कुरा हामीले बालबालिकालाई सिकाउनु पर्छ । कता रुची छ भन्ने कुरा सुरुमा नै बच्चालाई थाहा हुँदैन । म आफै एउटा गाउँले परिवेशमा हुर्किए । स्कूलमा निबन्ध लेख्न दिइन्थ्यो, तिम्रो भविष्यको लक्ष के हो ? भनेर अनि हामी त्यतिबेला मेरो जीवनको लक्ष इन्जिनियर बन्ने, डाक्टर बन्ने, पाइटल बन्ने लेख्थ्यौ । हाम्रा गुरुहरु मख्ख परेर नम्बर दिनुहुन्थ्यो । जबकी हामीलाई केही थाहा थिएन । हामीले हल्लैहल्लाको भरमा सुनेर लेखेका हुन्थ्यौ । पछि थाहा भयो जीवन र जगत त धेरै जटिल रहेछ । त्यसैले बालबच्चलाई शुरुमै के बन्ने भनेर तोकिदिनु हुँदैन । कोही राम्रो कलाकार छ, कलातिर उसको रुची छ भने कलामा नै उसले उत्कृष्टता हासिल गरोस् न । कसैको साहित्यप्रति रुची छ, राम्रो साहित्यकार ऊ बनोस् । कसैको समाजशास्त्रमा रुची छ, समाजशास्त्री बनोस् । राजनीतिमा रुची छ, नेता बनोस् । अर्थशास्त्रमा रुची छ, अर्थशास्त्री बनोस् । भौतिक विज्ञानमा रुची भए, प्राविधिज्ञ बनोस् । जीव विज्ञानमा रुची छ, चिकित्सक बनोस् । बच्चालाई उसको रुचीमा छोडिदिनुपर्छ । यो हुने त्यो नहुने भन्ने हामीले (अभिभावक, शिक्षक) लाद्नु हुँदैन ।
चौथो कुरा इतिहासले हामीलाई के सिकाउँछ भने अन्ततः हामी जुन धन, सम्पति, समृद्धि हासिल गर्छौ त्यसको स्रोत भनेको मानविय श्रम हो, शारिरीक श्रम होस् वा मानसिक श्रम होस् । त्यसैले हामीले पढेपछि श्रम गर्नुहुँदैन भनेर जुन हामी सिकाउँछौ त्यो गलत हो । आन्विकाजीको उपन्यासमा पनि उहाँले यो कुरा राम्ररी उल्लेख गर्नुभएको छ । हामीले सबै प्रकारका श्रमको सम्मान गर्नुपर्छ । आखिर विकास समृद्धिको स्रोत भनेको मानविय श्रम नै हो । श्रम गर्नुमा हामीले गर्व गर्नुपर्छ । श्रम सानो ठूलो हुँदैन । यो हामीले सिकाउनै पर्छ । श्रमको महत्व बुझाउने पुस्तकहरु हामीले हाम्रा केटाकेटीलाई पढ्न दिनुपर्छ । अन्त्यमा मेरो आग्रह के छ भने हामीले हाम्रो दिमागलाई खुला राख्न सिकाउनुपर्छ । बालबालिकालाई हामीले हाम्रा कुरा लाद्ने होइन, प्रश्न सोध्न सिकाउनुपर्छ । उनीहरुको जुन क्षमता छ, त्यसलाई प्रस्फुटित गरिदिने हो । त्यसैले यो दुनियाँ के हो ? संसार के हो ? के ठिक हो, के बेठिक हो भन्ने प्रश्न उनीहरुले गर्ने र ज्ञानलाई आफैले आत्मसाथ गरे भने त्यो ज्ञान बलियो हुन्छ । घोकन्ते ज्ञान र अर्काले हाल्देको कुराले मात्र मान्छेको ज्ञान पूर्ण हुँदैन । बालबालकिालाई पढ्न सिकाउने भनेको उनीहरुको सृजनशिल क्षमता वृद्धि गर्ने नै हो ।"