arrow

सम्झौता गरेको दोस्रो दिनदेखि नै युनिलिभरद्वारा सहमति उल्लंघन

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ साउन २६ बुधबार
unliver-labor-agreement.jpg.jpeg
काठमाडौं। कामदारहरूसँग प्रमुख जिल्ला अधिकारी समेतको मध्यस्ततामा सम्झौता पत्रमा हस्ताक्षर गरेको दोस्रो दिनदेखि नै युनिलिभर कम्पनीले सहमति उल्लंघन गरेको छ। पहिलो पटकको सम्झौता कार्यान्वयन नगरेपछि केहीदिन अघिदेखि उद्योगका कर्मचारी र मजदूरहरूले युनिलिभरको हेटौंडामा रहेको उद्योगमा आन्दोलन सुरू गरेका थिए। 
 
तर, गत आइतबार मजदूर र व्यवस्थापनबीच ३ बुँदे सहमति भएको थियो। जुन सहमति पत्रमा गत जेठ १६ गते भएको सहमति बमोजिमको कार्यान्वयन नभएको विषयलाई गम्भीर रूपमा लिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमपत भएको थियो।  सहमति पत्रको पहिलो नम्बरमा भनिएको छ ‘सामुहिक सौदाबाजीमा उल्लेख भएको बुँदा नं ३(६) को श्रम सम्बन्ध समितिका २९ मे २०१६ को बैठकको आवास कोषसँग सम्बन्धित भएकोले उक्त बुँदा अदालतको चलानी नम्बर ३१६ मिति २०७३-४-१० को आदेश तथा श्रम कार्यालय मकवानपुरको च.नं. २८८ मिति २०७३ असार २९ को सहमति कार्यान्वयन गर्ने भनी पठाएको पत्र अनुसार प्रतिष्ठानमा रहेको श्रम सम्बन्ध समितिको बैठक बसी मागपत्रमा उल्लेखित सम्झौतामा उल्लेख भए अनुसार कार्यान्वयन गर्ने निर्णय गरियो।’
 
माथि उल्लेखित मिति अर्थात् १६ जेठ २०७३ मा कामदार र युनिलिभर कम्पनीबीच आवास कोषमा रहेको पैसाबाट हरेक भूकम्पपीडितलाई जनही २ लाखको दरमा राहत दिने सहमति भएको थियो।  तर, युनिलिभरले सो सहमति कार्यान्वयन नगरेपछि कामदारहरूले फेरि आन्दोलन सुरू गरेका थिए। त्यस्तै, दोस्रो बुँदामा ‘प्रतिष्ठानमा बासस्थान कोषको सन्दर्भलाई लिएर प्रतिष्ठानमा कार्यरत ७ जना कामदारहरूलाई निलम्बन गरिएकोमा निज कामदारहरूलाई तत्काल निलम्बन फुकुवा गर्ने निर्णय गरियो भन्ने उल्लेख छ। तर, सहमति भएको चौथो दिनसम्म पनि कर्मचारीको निलम्बन फुकुवा नभएको उद्योगको आधिकारिक ट्रेड युनियनका अध्यक्ष जयराम धितालले जानकारी दिए। 
 
त्यस्तै, तेस्रो बुँदामा अवरोध हटाउँदै कम्पनी पूर्ण रूपमा सूचारु राख्ने र दशौं सामुहिक सौदाबाजी भएको सहमतिको मितिदेखि २ वर्षसम्म कामदारहरूले कुनैपनि थप माग राखी बन्द हड्ताल जस्ता कम्पनी सञ्चालनमा अवरोध हुने काम गर्न नपाउने उल्लेख गरेको छ। तर, कम्पनीले भने उद्योग बन्द रहेको जानकारी दिँदै हिन्दूस्तान लिभरमा बोर्ड बैठकको लागि भन्दै व्यवस्थापनका अधिकारीहरू भारततिर लागेका छन्। धितालले सहमति भएकै भोलिपल्टैदेखि कामदारहरू कार्यालय फर्किएको भएपनि व्यवस्थापन आफैंले कि कार्यालय बन्द गरिरहेको छ भन्ने कुरामा आफूहरू पनि स्पष्ट हुन नसकेको बताए।
 
यससँगै कामदारहरूले भने सहमति भएको भलिपल्टैदेखि कम्पनीले सहमति उल्लंघन गरेको ठहर गरेका छन्। यसरी, दुई पक्षबीच सहमति हुँदै गर्दा उक्त सहमतिको लागि प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेको संयोजकत्वमा, प्रहरी उपरीक्षक मीरा चौधरी, श्रम कार्यालय मकवानपुरका सदस्य सचिव श्याम कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो। सम्झौता पत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँगै युनिलिभरका सुरक्षा व्यवस्थापक गोविन्द शाही लगायतले हस्ताक्षर गरेका छन्। तर शाहीले नै मंगलबार हाम्रा कुरासँग कुराकानी गर्दै उद्योग अझै सूचारू नरहेको प्रतिक्रिया दिएका थिए।
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ