arrow

जनकपुरमा माछा-मासु तथा मदिरा बेच्न नपाइने

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत २ बुधबार
janakpur-madhyaki.JPG

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा दुई दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ । मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत बिहीबार भोलि परिक्रमा यात्रीको टोली जनकपुरधाम पुग्ने भएपछि स्थानीय प्रशासनले माछा-मासु तथा मदिरा बिक्री गर्न रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार एक विज्ञप्ति जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रमा मास-मदिरा बिक्री वितरण तथा सेवन निषेधित गरेको छ । बिहीबार परिक्रमायात्री जनकपुरधाम फर्कने र शुक्रवार अन्तरगृह परिक्रमा गरिने छ ।

होली पर्व मनाउने नाममा जथाभाबी रङ्ग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेजस्ता कार्य नगर्न पनि धनुषा प्रशासनले सचेत हुन आग्रह गरेको छ ।

लागूऔषध, मदिरा तथा अन्य उत्तेजक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, हुलहुज्जत नगर्न र चर्को स्वरमा बाजा नबजाउन तथा डिजे सञ्चालन नगर्न समेत आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। जिल्ला प्रशासन धनुषाले जारी गरेको सूचनाको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । 

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरू हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । यो यात्रा भारत नेपाल गरेर १ सय ३३ किलोमिटरको रहेको बताइन्छ ।

मिथिला माध्यमिकी परिक्रमामा प्रारम्भको पहिलो दिन हनुमानगढी,दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन फूलहर स्थित गिरिजा स्थान, चौथो दिन महोत्तरीको मटिहानी,पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड , आठौँ दिन कञ्चनवन पुगेर त्रेता युगमा राम र सीताले होली मनाएको लोक मान्यता अनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेका छन् । 

नवौँ दिन पर्वता, १० औं दिन धनुषाधाम, ११ औं दिन सतोखर, १२ औं दिन औरही १३ औ दिन भारतको करुणा र १४ औं दिन विसौल र अन्तिम १५ औं दिन जनकपुरधाममा रात्रिबासको परम्परा छ । बिसौलमा पुगेर विधिवत् रूपमा मध्यमा परिक्रमा समापन हुनेछ । तत्पश्चात् परिक्रमा जनकपुरधाम पुगेर जनकपुरधामको पाँचकोशे अन्तरगृह परिक्रमा गर्ने परम्परा रहिआएको छ । हजारौँको सङ्ख्यामा यात्रीहरूले यस परिक्रमामा सहभागिता जनाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ