एजेन्सी । ब्राजिलमा जारी रियो ओलम्पिक खेलकुद अन्तर्गत फुटबलको पुरुष इभेन्टमा आयोजक ब्राजिलले विहिबार बिहान ६ : ४५ बजे डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ ।
समुह ‘ए’मा रहेको आयोजक ब्राजिलले समुह चरणका दुवै खेल बराबरी खेलेको थियो । डेनमार्क भने ४ अंकसहित समूहको शीर्ष स्थानमा छ। यसले गर्दा ब्राजिललाई डेनमार्कविरुद्ध जित हात पार्न त्यति सहज हुने छैन ।
डेनमार्कसँगको खेल आफ्नो पक्षमा पार्न नसके आयोजक ब्राजिलको अन्तिम ८ को प्रवेश सपना चक्नाचुर हुनेछ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले ओलम्पिकमा भने हालसम्म स्वर्ण हात पार्न सकेको छैन। यद्धपि आयोजक ब्राजिललाई यकपटकको ओलम्पिक पुरूष फुटबल स्वर्णको प्रमुख दावेदारको रूपमा हेरिएको छ।
समूह चरणको अन्तिम खेलहरू वुधबार हुँदैछन्। वुधबार र विहिबार गरेर खेलहरू सकिएपछि अन्तिम ८ मा पुग्ने टोलीहरूको टुंगो लाग्नेछ।
को–को भिड्दैछन्
पहिलो खेल समूह ‘डी’ अन्तर्गत पोर्चुगलविरुद्ध अल्जेरिया र अर्जेन्टिनाविरुद्ध होन्डुरस भिड्ने छन् । दुवै खेल नेपाली समय अनुसार राति ९ः४५ बजेपछि सुरू हुनेछछन्। अर्को खेलमा समूह ‘सी’मा रहेका जर्मनी र फिजी तथा दक्षिण कोरिया रमेक्सिको भिड्दै छन् । यी दुवै खेल राति १२ः४५ बजे हुने छन्।
यस्तै, विहिबार विहान समूह ‘बी’ अन्तर्गत कोलम्वियाविरुद्ध नाइजेरिया र जापानविरूद्ध स्वीडेन भिड्ने छन् । दुवै खेल बिहान ३ः४५ बजेपछि हुने छन् । अर्को खेलमा समुह ‘ए’ अन्तर्गतको अर्को भिडन्तमा ब्राजिलविरूद्ध डेनमार्क र इराकविरूद्ध दक्षिण अफ्रिका आमने सामने हुने छन् । खेल विहिबार बिहान ६ः४५ बजे सुरू हुने छन्।