काठमाडौं। नेपाल विधार्थी संघको जारी महाधिवेशनमा प्रदेश नं. ३ बाट उपाध्यक्ष पदमा एल.वी. (लोकबहादुर) कार्कीले उम्मद्धारी दिने भएका छन्। २०५३ सालमा स्कुल इकाई अध्यक्ष, २०५७ सालमा वानेश्वर बहुमुखी क्याम्पसको ईकाई सदस्य, सचिव र उपसभापति हुदै २०६० सालमा एकाई सभापति तथा २०६२ सालको स्ववियू निर्वाचनमा नेविसंघका तर्फबाट सभापतिको पदका प्रत्यासी भएका कार्कीले २०६६ सालमा केन्द्रिय सदस्यको जिम्वेवारी बहन गरि सकेका छन्।
२०६२ सालको स्ववियू निर्वाचनमा वानेश्वर क्याम्पसमा सभापतिका प्रत्यासी भएका थिए। उनीसँगै क्याम्पसमा राजनीति गरेकी नविना लामा अनेरास्ववियूकी अध्यक्ष भइसकेकी छन्। समकक्षी साथीहरु अन्य प्रतिस्पर्धी संगठनका अध्यक्ष भईसक्दा पनि आफ्नो संगठनको नियमित अधिवेशन हुन नसक्दा आफुले चाहेरमात्र केही हुन नसक्ने भन्दै लामो समय महाधिवेशन नहुनाले संगठनको रक्तसञ्चार वन्द प्रायः रहेको धारणा कार्कीले व्यक्त गरेका छन्।
नियमित रुपमा नेविसंघको महाधिवेशन हुन नसक्दा विद्यार्थीको अधिकारको लागि भन्दा पनि पार्टीमा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्ने राजनीतिक खुटकिलो बनाउने तत्वहरु संगठनको नेतृत्वमा हावी हुन दिन नहुनेमा कार्कीले जोड दिएका छन्। उनले भने, हामी नियमित रुपमा महाधिवेशन गर्न नसक्दा गैर विद्यार्थीहरु विद्यार्थी नेताको रुपमा रहिरहने र पार्टीको राजनीतिमा क्रियाशिल रहने प्रवृतिले समग्र शैक्षिक आन्दोलनलाई नै शिथिल बनाएको छ।
अवको हाम्रो दायित्व भनेको विद्यार्थी अधिकार प्राप्ति र शैक्षिक उन्नयनसँग जोडिनु पर्दछ। शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतीको अन्त्यका लागि आफुले उपाध्यक्ष पदमा उम्मेदारी दिएको कार्कीले बताए।