भारतको सहयोगमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
780
Shares
भोजपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासकी नियोग उपप्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उक्त उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् । मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरे ।
दुई करोड २६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्नेछ ।
१५ शैयाको क्षमता भएको यस अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवाप्रदान गर्न हेतु प्रसूति कक्ष, चौबीसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन्। ती मध्ये भोजपुरका ४ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले भोजपुर जिल्लामा हालसम्म ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ। यस परियोजनाको कार्यान्वयनले नेपालको सामाजिक आर्थिक विकास र विशेष गरी स्वास्थ्य पूर्वाधारको विकासका लागि नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबद्ध रहेको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।