काठमाडौं । नेपाल विद्यार्थी संघको विधिवत महाधिवेशनको माग गर्दै अनसन बसेका विद्यार्थी नेताद्वय गणेश सापकोटा र रत्नहरि ढुङ्गेलले अनसन तोडेका छन् । वुधबार काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा पार्टी सभापति शेरबहादुर देउवाले जुस खुवाएर अनसन तोडाएको विद्यार्थी नेता युवराज पाण्डेले जानकारी दिए । अनशन तोडाउन काँग्रेस नेता कृष्ण प्रसाद सिटौला, प्रदिप पौडेल, विद्यार्थी नेताहरु कुन्दन काफ्ले, युवराज पाण्डे, वलदेव तिमिल्सिना, तुलसा पन्त लगायतका ओम अस्पताल पुगेका थिए। अनशनकारीहरुलाई नेता सिटौलाले माला लगाइदिएका थिए।
अघिल्लो शनिबारदेखि आमरण अनसनमा बसेका उनीहरू विवादित ११ जिल्लाको अधिवेशन ३ महिनाभित्र गर्ने लगायत विषयमा सहमति भएपछि अनसन तोड्न राजी भएका हुन् । उनलाई अपरान्ह पौने ५ तिर सभापति देउवाले ओम अस्पतालमा पुगेर जुस खुवाएका थिए । वुधबार विहान नै यो अधिवेशन केन्द्रीय सदस्यको रोहवरमा पार्टीको समन्वयमा गर्ने, अहिले जिल्ला सभापति नतोकेर प्रतिनिधिमात्र चयन गर्ने लगायतका विषयमा सहमति भएको थियो ।