नेपाल–भारत समन्वयात्मक बैठकः तटबन्धबारे स्थलगत अध्ययन गरी संयुक्त प्रतिवेदन बनाइने
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७८ चैत ७ सोमबार
870
Shares
दार्चुला । भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धको विषयमा समन्वयात्मक बैठक बसेको छ । तटबन्ध निर्माणका क्रममा विवाद सृजना भएपछि नेपाल र भारतीय पक्षबीच पहिलो पटक बैठक बसेको हो ।
तटबन्ध निर्माणका क्रममा उत्पन्न विवाद साम्य पार्नुका साथै दुवैतिर क्षति नहुने गरी संरचना निर्माण गर्ने विषयमा छलफल भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।
आइतबार दार्चुला सदरमुकाम खलंगामा नेपालका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र भारतको पिथौरागढ जिल्लाका एसडीएम अनिलकुमार शुक्लाको संयोजकत्वमा प्राविधिक सहितको टोलीले दुई घण्टा छलफल गरेको हो ।
छलफलमा भारतीय प्राविधिक टोलीले तटबन्धको डिजाइन अनुमानित लगायतको जानकारी नेपाली पक्षलाई गरेका थिए । महाकाली नदीमा खसेको खोतिला पहिरो क्षेत्रमा क्षति नहुने गरी नदीको भाग चौडा बनाउने भारतीय पक्षले जनाएको छ ।
यसैबीच बैठकमा दुवैतिर प्राविधिक सहितको टोली गठन गरेर महिनाको दुई पटक संयुक्त स्थलगत अध्ययन, अनुगमन गरी प्रतिवेदन बनाउने सहमति भएको छ ।
भारतको सिँचाइ विभागले खलंगा पारी महाकाली नदीमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । तटबन्धको दुई प्याकेजमा काम भइरहेको जनाइएको छ ।
यसअघि भारतीय पक्षले नेपालसँग समन्वय नगरी एकतर्फी तटबन्ध निर्माण गरिरहेको थियो । एकतर्फी रुपमा नदीको बहाव नेपालतिर फर्कारहेको भन्दै स्थानीयहरु आन्दोलित हुँदै आएका छन् ।