arrow

नेविसंघ महाधिवेशन, परिचय पत्र वितरण ढिलागरी

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन अझै बढी लम्बिने देखिएको छ । प्रतिनिधि विवादले गर्दा गत साउन २५ गते नै सकिनुपर्ने महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । बुधबार भएको सहमतिअनुसार बिहीबार बिहान ९ बजेदेखि परिचयपत्र बाँड्ने जनाइएको थियो । तर फेरि पनि ढिलाइ हुने देखिएको छ । 
 
महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोति भण्डारीका अनुसार परिचयपत्र वितरण १० बजेभन्दा अगाडि सुरु हुने छैन । परिचयपत्र पार्टी मुख्यालय सानेपाबाट बाँडिने छ । दिउँसो २ बजेदेखिमात्र भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ । 
 
नयाँ नतेृत्वको चयनका लागि साउन २९ गते निर्वाचन गर्ने तयारी गरिएको छ । विवाद समाधान भएसँगै बुधबार साँझ बसेको नेविसंघ निर्वाचन समितिको बैठकले मोटामोटी रूपमा यस्तो कार्यतालिका बनाएको समिति सदस्य अरूण कुमार पंञ्जियारले बताए । 
 
निर्वाचन समितिले बनाएको मोटामोटी निर्वाचन कार्यतालिका अनुसार विहीबार साँझ ५ बजे मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गर्ने, सम्भव भएसम्म सोही दिन र नभए भोलिपल्ट अर्थात् शुक्रबार मतदाताहरूको नामावलीमाथि दावी विरोध गर्ने कार्यतालिका छ । 
 
त्यसपछि शुक्रबार नै उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेर २९ गते शनिबार निर्वाचन गर्ने मोटामोटी कार्यतालिका तय भएकोसमेत पञ्जियारले जानकारी दिए । 
 
उनका अनुसार हालसम्म निर्वाचन समितिलाई जम्मा ६३ जिल्लाको मात्रै मतदाताको नामावली प्राप्त भएको छ । बाँकी मतदाताको विषयमा सहमति भएपछि विहिबार नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ । 
 
डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष भरत खरेलको संयोजकत्वमा बनेको निर्वाचन समितिमा महासचिवद्वय मेघराज पोखरेल र अरूणकुमार पञ्जियार, नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य कृष्ण प्रसाद पनेरू र अधिवक्ता तेज रावल सदस्य छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ