arrow

चीनसँग केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
wang-yi-chinese-foreign-mininster-nepal.jpg

काठमाडौं । सरकारले प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिनका लागि चीनसँग प्रस्ताव गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने भएको हो । 

यसैगरी नेपाल र चीनलाई जोड्ने मुख्य सडकको रूपमा रहेको अरनिको राजमार्गलाई विस्तार गरिदिन समेत नेपालले विदेशमन्त्री वाङसमक्ष प्रस्ताव गरिने भएको छ । नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाडौंको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेको हो । 

नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’को रूपमा लिइएको सो रेलमार्गको निर्माण अनुदान सहयोगमा नै गर्न नेपालले चीनलाई आग्रह गर्दै आए पनि सम्भाव्यता अध्ययनका लागि नेपालले अहिलेसम्म औपचारिक प्रस्ताव गरेको थिएन ।

सम्भाव्यता अध्ययन पूूरा भएसँगै प्रस्तावित सो रेल निर्माणको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको थियो । 

भ्रमणकै क्रममा प्रस्तावित उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने दुई मुलुकले संयुक्त घोषणासमेत गरेका थिए ।

प्रस्तावित सो रेलमार्ग निर्माणका लागि चीनद्वारा यसअघि गरिएको पूर्व सम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन प्रतिवेदनले उक्त रेलमार्गको निर्माण र सञ्चालन सम्भव रहेको देखाएको छ । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरणसमेत गरेको छ । 

प्रतिवेदनअनुसार सो रेलमार्गको लम्बाइ करिब ७२ किलोमिटर हुनेछ । अध्ययनअनुसार सो रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छस जसमध्ये पहिलो स्टेसन केरुङमा हुनेछ भने काठमाडौं र केरुङको बीचमा दुईवटा र अन्तिम स्टेसन काठमाडौं टोखामा हुनेछ ।

रेलमार्ग निर्माणका लागि चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपाल रेल आउने हो । केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने विश्वास छ ।

चीनले सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म रेलमार्ग निर्माणका लागि फिल्ड सर्भे सम्पन्न गरेको रेल विभागले जनाएको छ । केरुङ–सिगात्से भएर नै नेपालमा चीनबाट रेल आउने हो, यस सन्दर्भमा सिगात्से–केरुङमार्गको निर्माण कार्य अगाडि बढ्नु नेपालका लागि सकारात्मक रूपमा लिइएको छ । 

केरुङ–सिगात्सेको दूूरी ५४० किलोमिटर छ भने प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको दूरी ७२ किलोमिटर छ । रसुवागढीदेखि केरुङसम्मको दूरी २५ किलोमिटर छ ।

हिजो आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ र नेपाली पक्षबीच आज विशेष छलफल हुँदैछ । उक्त छलफलका क्रममा विभिन्न सम्झौता पनि हुने बताइएको छ । 

तीन दिने नेपाल भ्रमणमा आएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई पनि भेट्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ