arrow

चीन र भारतसँगको सम्बन्ध सुदृढ गर्न भ्रमण केन्द्रित : उपप्रधानमन्त्री निधि

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
nidhibalendra.JPG.jpeg
काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमण र भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउन केन्द्रित हुने बताएका छन् । 
 
मन्त्रालयमा रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँगको भेटमा उनले संविधान निर्माणपछि केही समय असहज देखिएको नेपाल–भारत सम्बन्ध सुधार गर्नसमेत आफ्नो भ्रमण केन्द्रित रहने बताए । 
 
आज बसेको मन्त्रिपरिषद्को बैठकले निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरेको थियो । उपप्रधानमन्त्री महराको भ्रमण चीनका राष्ट्रपति सि जिन पिङको सम्भावित नेपाल भ्रमण र दुई देशको सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने उपप्रधानमन्त्री निधिले बताए । 
 
प्रधानमन्त्री दाहालले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र समन्वय बढाउने उद्देश्यसहित आफूहरुलाई उक्त देशमा पठाउन लागेको उनको भनाइ छ । 
 
एक-डेढ महिनामा संविधान संशोधनको प्रक्रिया टुङ्गिने 
 
उपप्रधानमन्त्री निधिले आन्दोलनरत मधेसी, जनजाति, थारुको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिए । 
 
उनले संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार तयार रहेको धारणा राखे । उपप्रधानमन्त्री निधिले भने , “सीमाङ्कन, राष्ट्रियसभाको गठन र वैवाहिक नागरिकताको विषयमा मुख्य विवाद देखिएको छ, यसमा के कति गर्न सकिन्छ, प्रयासरत छौँ ।” उनले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) र मधेसी मोर्चासँगको थप छलफल गरेर एक-डेढ महिनामै संसद्मामा संविधान संशोधन प्रस्ताव दर्ता हुने जानकारी दिए । 
 
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टी सहमत हुन नसक्ने भन्ने अभिव्यक्ति दिएपनि संशोधनमा सहयोग गर्ने आफूले विश्वास लिएको उनको भनाइ छ ।  निधिले  भने, “उहाँले(अध्यक्ष ओलीले) संविधान गतिशील दस्तावेज भएको र यसमा संशोधन गर्न सकिन्छ भन्नुभएको छ । त्यसैले एमालेले संविधान संशोधन प्रस्तावमा सहयोग गर्ने विश्वास लिएका छौँ ।” 
 
सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)बीच भएको सातबुँदे सहमति मधेसी मोर्चासँग भएको तीनबुँदे सहमतिअनुरुपका काम सरकारले अगाडि बढाइसकेको  निधिले  जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ