arrow

वाङको सुपर ग्लुले टाँसिएलान् ओली–प्रचण्ड ? माधव नेपाल निराश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
wang-oli-prachanda-china.jpg

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट अनुमोदन भएपछि चिँढिएको चिनियाँ पक्षले नेपालका दुई कम्युनिष्ट पार्टीलाई सकेसम्म चुनाव अघि पार्टी एकीकरण गर्न त्यसो गर्न संभव नभए स्थानीय तहको निर्वाचन र संघीय संसदको निर्वाचनमा मिलेर चुनावमा जान सुझाव दिएको छ । 

आइतबार चीन फर्कनुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्दै दुवै कम्युनिष्ट पार्टीलाई सकेसम्म पार्टीलाई एक बनाउनु पर्ने त्यसो नभए पनि आउँदो निर्वाचनमा मिलेर सहभागी हुन सुझाव दिएका हुन् । 

‘नेपालका कम्युनिष्टहरु एक भएको सन्देश राम्रो थियो, अहिले विभाजन हुँदा त्यसबाट भू–राजनीति समेत बिग्रेको छ, पार्टीहरु अनेकन् बहानामा फुट्नु नागरिक र मुुलुकका लागि राम्रो होइन, सकेसम्म पार्टी एकता गर्नुस नभए पनि निर्वाचनमा मिलेर जानुस त्यसले पार्टी र मुलुकलाई बलियो बनाउछ’, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा सो कुरा बताएको स्रोतले जनाएको छ । 

करिब ४५ मिनेटको फरकमा एकै स्थानमा भएको भेटमा विदेशमन्त्री वाङ यीले सो कुरा बताएका थिए । ‘धेरै लामो कुरा हुन पाएन, चिनियाँ विदेशमन्त्रीले नेपालका कम्युनिष्टहरु विभाजित हुनुको कारण सोध्नुभयो, हामीले थोरै विषयहरु बताउन नपाउँदै उहाँहरु कम्युनिष्ट पार्टी विभाजित हुँदा नेपालमा अन्य प्रभावहरु पर्ने र त्यसमा विदेशीहरुले बढी नै खेल्न सक्ने भएकाले सकेसम्म चाँडो एकता गर्नुस्, अहिलेको निर्वाचनमा एक्ला एक्लै होइन मिलेर सहभागी हुनुस् भन्नुभयो’, माओवादीका अध्यक्ष प्रचण्डसँगै रहेका एक नेताले भने । 

उनका अनुसार माओवादी अध्यक्षले नाका खोल्ने र बीआरआर्इको विषयमा कुराकानी गर्दा पनि वाङ यीले वामपन्थी पार्टीको एकताकै सन्दर्भमा कुराकानी गरेका थिए । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र माओवादी नेता वर्षमान पुनको टोली चीन रहेका बेला वाङ यी नेपाल भ्रमणमा आएका थिए । यद्यपि पौडेलको टोली भने शुक्रबार नै काठमाडौं आएको थियो । 

वाङ यी को नेपाल भ्रमणकै पूर्व सन्ध्यामा एमाले र माओवादी दलका तर्फबाट हालै भिन्नभिन्न टोलीले चीन भ्रमण गरेका थिए । वाङ यी नेपाल आउनुअघि एमाले नेता विष्णु पौडेलको नेतृत्वमा एउटा टोली चीन पुगेको थियो । कम्युनिस्ट एकताका लागि पहल गर्न टोली चीन गएको बुझाइ अधिकांशको छ । पौडेलका साथमा पुष्पराज कँडेल, मीना सिंह, काशिनाथ अधिकारी चीन गएका थिए ।  

उनीहरु तीन दिन बसेर फर्केपछि माओवादी केन्द्रका वर्षमान पुन, ओनसरी घर्तीमगर र देव गुरुङ पनि चीन पुगेका थिए । चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई मधेसी दलले भने त्यति सकारात्मक लिएका छैनन् । मन्त्री वाङ चीनका प्रभावशाली नेता मानिन्छन् । 

स्टेट काउन्सिलरसमेत रहेका वाङ आगामी मेमा पार्टीमा बढुवा हुने सम्भावना भएका नेता हुन् । उनीभन्दा माथिल्लो तहमा रहेका याङ जेइछीले अवकाश पाउँदै छन् । याङ पोलिटब्युरो कमिटी सदस्य हुन् । २०१३ देखि विदेश मन्त्रालयमा रहेका वाङ २०१८ देखि स्टेट काउन्सिलरको समेत जिम्मेवारीमा छन् । ‘

उनको यो भ्रमण निकै अर्थपूर्ण रहेको छ, उनीसँगै स्थलमार्गबाट नेपाल आएको पाँच सदस्यीय टोली भने नेपालमै रहेको छ’, सुरक्षा निकायका एक अधिकारीले भने । उनका अनुसार नेपालमा रहेका चिनिया अधिकारीहरुले दुई कम्युनिष्ट पार्टीका नेताहरुलाई भेटघाट गर्ने र सकेसम्म स्थानीय तहकै निर्वाचनमा गठबन्धन गराउने योजना रहेको छ ।

 ‘सकेसम्म स्थानीय स्तरमा गठबन्धन गराएर पार्टी एकताका लागि दबाब दिने योजना रहेको छ’, स्रोतले भन्यो । चीनको पछिल्लो गतिविधिले नेपालमा वर्तमान सरकारको गठबन्धनभन्दा पनि कम्युनिस्ट गठबन्धन कायम होस् र त्यसलाई चिनले सहयोग गर्न पाइयोस भन्ने चाहाना राखेको पाइन्छ । 

दुई पार्टीका अध्यक्षलाई भेट गरिरहँदा वाङ यीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने भेटेनन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रयास गर्दा पनि वाङले भेट नदिएको स्रोतको दाबी छ । 

सत्तारुढ घटकमध्येको एकीकृत समाजवादका अध्यक्ष नेपालसँग वाङको भेट गराउन सरकारका तर्फबाट भएको पहल पनि सफल हुन सकेन । ‘वाङले समय छैन भन्नुभयो, आवश्यक परेको भए समय निकाल्ने संभावना थियो तर चिनियाँ पक्षले भेटघाट गर्न चाहेन’, नेपालका एक उच्च अधिकारीले भने । 

ती अधिकारीका अनुसार अहिले आवश्यक नभएको भन्दै भेटलाई अस्वीकार गरिएको थियो । अध्यक्ष नेपालसँग चीनको राम्रो सम्बन्ध रहेको बताइए पनि यसपटक झलनाथ खनाललाई भने विदेशमन्त्री वाङ यी ले भेटघाट गर्न चाहेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ