arrow

रियो ओलम्पिकः निशा रावल भन्छिन् –महिलाको पीडा महिलाले नै बुझ्न सक्छन्

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
nisha-rawal.jpg.jpeg
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न तेक्वान्दो खेलाडी निशा रावल शुक्रबार ब्राजिल जाँदैछिन् । उनले तेक्वान्दोको ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैैछिन् । 
 
उनीसंग जाँदैछिन् ओलम्पियन संगीना वैद्य पनि । संगीना अहिले भने प्रशिक्षकको भूमिकामा हुनेछिन् । संगीना त्यस्ती नेपाली तेक्वान्दो खेलाडी हुन् जसले छनोट चरण पार गरेर पहिलो पटक ओलम्पिकमा सहभागीता जनाइन् ।
 
 
सन् २००४ को एथेन्स ओलम्पिकबाट नै नेपालले पहिलो पटक छनोट चरण पार गरेको खेलाडीले प्रतिस्पर्धा गर्न पाएको हो । कीर्तिमानी नेपाली खेलाडी संगीना यतिबेला प्रशिक्षकको भूमिकामा पनि निकै चुनौती खेपिरहेकी छिन् । 
 
 
संगीना भन्छिन् –मैले पूरा गर्न नसकेको इच्छा निशाले पूरा गरोस् भन्ने कामना छ । अर्थात् संगीना छनोट चरण पार गरे पनि पहिलो चरणबाटै बाहिरिएकी थिइन् । 
 
 
यसपटक निशा पनि त्यसै भन्छिन् । ‘गुरुले मैले पूरा गर्न नसकेको इच्छा तिमीले पूरा गर्नुपर्छ, तिमी जसरी पनि राम्रो खेल्नुपर्छ भनेर मलाई सुरुदेखि नै प्रोत्साहन दिइरहनु भयो, गुरुले आफ्ना अनुभव पनि सुनाउनु भयो, त्यसले एकदम सजिलो भएको छ’, निशा अगाडि थप्छिन् ‘गुरु महिला भएर पनि मलाई धेरै सजिलो भएको छ, महिलाका पीरमर्का महिलाले नै बुझ्न सक्छन् ।’ 
 
 
उनको लक्ष्य छ अहिलेसम्मकै बेष्ट खेल्ने । उनको बेष्ट के हो त ? ‘अहिलेसम्म आफूले हासिल गरेका सबै टेक्निक अपनाएर खेल्छु, मेरो यो सबैभन्दा ठूलो प्लेटफर्म हो’, निशा भन्छिन् ‘रिङमा तीन राउण्ड राम्रोसंग खेल्छु ।’
 
 
उनी प्रशिक्षणदेखि भने सन्तुष्ट छैनिन् । किनकि उनलाई पनि वैदेशिक प्रशिक्षणमा लगेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ । 
 
नेपाल प्रहरीकी यी खेलाडी निरन्तर प्रशिक्षण गर्ने भएकाले पनि आशा गर्ने ठाउँ छ । त्यतिमात्र होइन यिनको शरीरले पनि साथ दिने विश्वास गर्न सकिन्छ 
 
 
निशाले अहिलेसम्म सन् २०१४ मा माउण्ट एभरेष्ट च्याम्पियनसिपमा स्वर्णपदक, सन् २०१५ मा हङकङ एसएलसीटीमा स्वर्णपदक र सन् २०१६ मा जेन्जु ओपन च्याम्पियनसिपमा रजत पदक जितेकी छिन् । 
 
त्यस्तै राष्ट्रिय पाँचौं राष्ट्रिय खेलकुदमा रजत पदकपछि निरन्तर स्वर्णपदक जितेकी छिन् । छैटौं राष्ट्रिय खेलकुद, लुम्बिनी तथा पोखरा च्याम्पियनसिपमा उनले स्वर्ण नै जितिन् । 
 
भदौ ४ गते (अगष्ट २० तारिख) निशाको खेल छ । त्यो नै नेपाली खेलाडीको रियो ओलम्पिकको अन्तिम खेल हुनेछ । र, स्मरणमा निशामात्र हुनेछिन् । 



नयाँ