काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा अन्ततः प्रतिनिधि विवाद समाधान भएको छ । बुधबार नै समाधान भएर नामावली तयार भएको जनाइए पनि शुक्रबार बिहानमात्र समस्याको समाधान भएको हो ।
महाधिवेशन निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतको निवासमा रातभर समस्या समाधानका लागि समितिको बैठक बसेसंगै समाधान भएको हो ।
डा. महतले हाम्राकुरासंग भने, ‘दिनरात मेरो घरमा अखडा जमाएर बसी समस्याको समाधान ग¥यौं ।’ तदर्थ समितिका अध्यक्ष रञ्जित कर्ण (जो रामचन्द्र पौडेल पक्षका मानिन्छन् ), कुन्दन काफ्ले (कृष्णप्रसाद सिटौला पक्षका मानिन्छन्) समूह र पूर्व अध्यक्ष महेन्द्र शर्माको समूहलाई राखेर समस्या समाधान भएको हो ।
शर्मा समूहले शुक्रबार बिहान नामावली बुझाएको छ भने काफ्ले समूहले बिहान २ बजे नामावली बुझाएको हो ।
प्रतिनिधि बाँडफाँडमा सहमति भएपछि नै प्रतिनिधि चयन हुँदैछन् । ‘बिहान प्रतिनिधि फाइनल भएपछि निर्वाचन आयोगले परिचयपत्र वितरण गर्छ, साँझसम्म उम्मेदवारको नामावली पनि तयार हुन्छ’, महतले भने ‘यसपटक विद्युतीय माध्यमबाट मतदान हुने भएकाले छिट्टै परिणाम आउला ।’
डा. महतले ‘शनिबार नै चुनाव हुने सम्भावना छ तर हुन्छ नै भन्ने यकिन भन्न यतिबेला गाह्रो छ’ भने । को को प्रतिनिधि छान्ने भनी अहिलेसम्म निक्र्योल हुन नसक्दा बिहान ९ बजे वितरण गर्ने भनिएको परिचयन पत्र नै तयार हुन सकेको छैन । स्रोत भन्छ –नामावलीको कुरा नै मिलेको छैन, पहिले जुन अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ ।
महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोति भण्डारीले नाम टाइप हुँदै गरेकाले परिचयपत्र वितरण गर्न केही घण्टा ढिलाई हुने बताए । अहिलेसम्म नाम नै फाइनल नभएको अवस्थामा परिचयपत्र तत्काल बन्ने सम्भावना देखिंदैन । ९ बजेदेखि नै परिचयपत्र पार्टी मुख्यालय सानेपाबाट बाँडिने जनाइएको थियो ।
प्रतिनिधिका नाम निश्चित हुन नसकेका अवस्थामा दिउँसो २ बजेदेखि हुने भनिएको बन्दसत्र एकादेशको कथाजस्तै भएको छ । गत आइतबार सुरु भएको महाधिवेशनमा अहिलेसम्म बन्दसत्र नै सुरु हुन सकेको छैन ।
नयाँ नतेृत्वको चयनका लागि साउन २९ गते निर्वाचन गर्ने तयारी गरिएको छ । तर त्यो तयारीअनुसार काम भने हुन सकेको छैन । विवाद समाधान भएसँगै बुधबार साँझ बसेको नेविसंघ निर्वाचन समितिको बैठकले मोटामोटी रूपमा यस्तो कार्यतालिका बनाएको समिति सदस्य अरूण कुमार पंञ्जियारले बताएका थिए ।
निर्वाचन समितिले बनाएको मोटामोटी निर्वाचन कार्यतालिका अनुसार विहीबार साँझ ५ बजे मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गर्ने, सम्भव भएसम्म सोही दिन र नभए भोलिपल्ट अर्थात् शुक्रबार मतदाताहरूको नामावलीमाथि दावी विरोध गर्ने कार्यतालिका थियो।
त्यसपछि शुक्रबार नै उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेर २९ गते शनिबार निर्वाचन गर्ने मोटामोटी कार्यतालिका तय भएकोसमेत पञ्जियारले जानकारी दिएका भएपनि विवाद बढ्दा भने अनुसार काम भएन।