काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन निर्देशनसमितिको संयोजक भएर थुप्रै निद्रा हराम गर्नुपर्ने वाध्यता परेको छ । नौ वर्षसम्म नेविसंघको महाधिवेशन नहुँदा सचित शक्तिलाई (विद्यार्थी जीवनबाट पार लागे पनि राजनीतिक नीतिका रुपमा विद्यार्थी भइ आएका) पार लगाउनु डा. महतको वशको कुरो हैन नै ।
त्यसैले उनले प्रतिनिधि बाँडफाँडको घोटालालाई सहजै पार लगाउन सकेनन् । उनीसंगै गुरुराज घिमिरे, गोविन्द भट्टराई, प्रदीप पौडेल र किशोरसिंह राठौर पनि त्यो समितिमा छन् ।
दिनरात नभनी डा. महत यसका लागि लागिरहे । उनकै निवासमा बैठक बस्ने भएपछि स्वभावतः उनी नै बढी खटिए । हाम्राकुरासंग देखेसो पोख्दै डा. महतले भने, ‘अपजशे पद सम्हालिएछ, पाउनु दुःख पाइयो, केही दिन त रात पनि छर्लङ्गै उज्यालो पारियो ।’
महतले पहिले नै प्रतिनिधि विवाद समाधान नगर्नाले यो स्थिति आएको बताए । जतिसुकै समस्याको समाधान भयो भनिए पनि डा. महत आफू भने खुसी छैनन् ।
किन त ? ‘विधिसम्मत त यो हुँदै होइन, प्रजातान्त्रिक पार्टीको भ्रातृ संस्थामा यसरी भागबण्डामा प्रतिनिधि छनोट गर्नु अनि नेताहरुका ईशारामा चल्नु पर्ने त हुनुहुँदैनथ्यो’, उनले भने ‘तत्कालको समाधानमात्र हो यो यसलाई अब सुधार गर्दै नलगी हुँदैन ।’
उनी अगाडि भन्छन्, ‘चुनाव नसकिएसम्म मलाई आराम हुँदैन ।’ नेविसंघ विधिसम्मत तरिकाले नै चल्नुपर्छ भन्नेमा महत सहमत छन् ।