arrow

सबस्टेसन उद्घाटनमा पुगे प्रचण्ड, सशक्त टिम बनाएर लोडसेडिङ अन्त्य गरेको दाबी

पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
prachanda-udhghatan.PNG

काठमाडौं । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएको पूर्वी चितवन १३२-३३-११ केभी सब स्टेसनको उद्घाटन गरिएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सब स्टेसनको उद्घाटन गरेका छन् । 

चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । 

मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ । हेटौडा-भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सब स्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगिएको बताए ।

‘विगतमा दैनिक १५-१६ घण्टाको लोडसेडिङको जटिल र चुनौतीपूर्ण अवस्थामा रहेर प्रताडित थियौँ,तर हामीले लोडसेडिङ आश्चर्यजनक रूपमा हटाएर त्यसलाई इतिहास बनाएका छौं, अहिले मुलुक लोडसेडिङमुक्त मात्र नभएर खपत गरेर जगेडामा रहेको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेका छौं,’उनले भने ।

 ‘इच्छाशक्तिसहित इमानदारिताका साथ काम गरिएमा असम्भव भनिएको काम गर्न सकिँदो रहेछ भन्ने पुष्टि भएको छ, लोडसेडिङ अन्त्यसँगै चुलो चौका, उद्योग, यातायातलगायतका हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्ने अवस्था सिर्जना भएको छ, यसले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा ठुलो सकारात्मक प्रभाव पारेको छ ।’

उनले मुलुकका मुख्य सहर तथा औद्योगिक क्षेत्रहरूमा ५० वर्षसम्मको विद्युत् मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गरे ।

चितवनबाट सङ्घीय सांसद समेत रहेका प्रचण्डले पूर्वी चितवन सब स्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे।  पूर्वी चितवन सबस्टेसन निर्माण २०७५को जेठबाट सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ