arrow

नेविसंघ महाधिवेशनः सीधै चुनाव, बिर्स नैतिकता

logo
बाबु नेपाली,
प्रकाशित २०७३ साउन २८ शुक्रबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । बुढापाकाले ‘अति भएपछि खति हुन्छ’ भन्थे नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघमा त्यस्तै खती हुने सम्भावना बढेको छ । त्यो खति हो नैतिकताविहीन राजनीति । 
 
‘जसको शक्ति उसको भक्ति’ शैलीले काँग्रेसका नेताहरुको पछि लागेपछि नेविसंघ उँभो नलाग्ने निश्चित छ । किनकि नेताहरु शक्तिको पूजा गर्छन् । अनि आफूलाई पनि पूजा गरोस् भन्ने मानसिकता पालेर बसेका छन् । 
 
नेविसंघको ११ औं महाधिवेशन नियमानुसार गत मंगलबार नै सकिनु पर्ने हो । अर्थात् साउन २३ गते सुरु भएर २५ गते सकिने कार्यतालिका केही महिना अगाडि नै तय भएको थियो । 
 
तर बिना प्रतिनिधि नै महाधिवेशन गराउन तम्सिने काँग्रेस, महाधिवेशन गर्न उक्सिने नेविसंघको चुनावी तदर्थ समिति । 
 
नउक्सेर पनि के गर्ने यसअघि सात पटकसम्म महाधिवेशनको मिति तोकेर पनि स्थगित हुँदै आएको थियो । यसबीचमा यसपटक पनि नैतिकता बिर्सेर भागबण्डामा चुनाव हुँदैछ । 
 
जब नैतिकता नै छैन र विधिसम्मत छैन भने त्यो महाधिवेशनमा बन्दसत्र हुनुले कुनै अर्थ राख्दैन । ठ्याक्कै यसपटक बन्दसत्र नहुने भएको छ । किनकि विचारमा भन्दा पदमा जोड दिएको यो महाधिवेशनमा टिकेप्रथा लागु नहुनु नै सबैभन्दा ठूलो कुरा हो । 
 
यसपटक जसले नेतृत्व सम्हाले पनि बुढाले नै सम्हाल्नेछन् । जसले जिते पनि अर्को पटक पनि नेतृत्व हत्याउन नपाउने निश्चित छ । किनकि १२ औं महाधिवेशनका लागि उम्मेदवार बन्न ३२ वर्ष काटेको हुनुहुँदैन । 
 
तसर्थ यसपटक अन्तिमपटक बुढाहरु नेविसंघको फाइनल भिडन्त भिड्दै छन् । 
 
भागबण्डाको चरम
काँग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको भनाइलाई मान्ने हो भने भागबण्डाको राजनीति बन्द गरिनु पर्छ । तर के गर्ने भनाइ र गराइमा फरक हुने रहेछ । अर्थात् नेविसंघको ११ औं महाधिवेशन निर्देशनसमितिको संयोजक भएर पनि उनले त्यो भागबण्डाको राजनीतिलाई आधिकारिक बनाए । यो उनकोमात्र होइन सिङ्गो काँग्रेसकै दोष हो । 
 
महाधिवेशन प्रतिनिधि बिना नै महाधिवेशन गर्न तम्सिने नेविसंघको तदर्थ समितिलाई वास्तवमा चुनावमा भाग लिने नैतिकतासमेत छैन । तर नैतिकता नै नभएपछि त्यस्तासंग यस्ता कुरा गर्नुको पनि के अर्थ ।
 
विवादको जड
विवादको जड हो भागबण्डा । राम्रा भन्दा पनि हाम्रामा जोड । ठ्याक्कै त्यस्तै भयो यो महाधिवेशनमा । भएका ७५ मध्ये ६४ जिल्लामा तदर्थ समितिले आफू सुहाउँदो अधिवेशन गर्यो । तीमध्ये ११ जिल्लाको स्थिति अझ कहालीलाग्दो छ । अर्थात् चुनावी समितिका अध्यक्ष रञ्जित कर्ण र ऋषिकेश साहले चरम घोटाला गरे । 
 
घोटाला गरे भन्नु कठिन हो । तर विश्वविद्यालय, कलेज आफै खोलेर खडेबाबा शैलीमा प्रतिनिधि बढाए । यतिसम्म असमानता छ कि ऋषिकेशको क्षेत्र सल्यानबाट ४८ प्रतिनिधि आएका छन् । जबकी त्यही नजिकको बाँके जहाँ धेरै कलेज पनि छन् त्यहाँबाट भने जम्मा २४ प्रतिनिधि चयन गरिएको छ । 
 
त्यस्तै दुई क्षेत्रको पर्वतमा ४७ प्रतिनिधि तोकिए अनि तीन क्षेत्रको बाग्लुङबाट २७ प्रतिनिधि चुनिए । यसबाटै मनोमानी स्पष्ट हुन्छ । 
 
त्यतिमात्र होइन मिलाएर ल्याइएका प्रतिनिधिमा असन्तुष्ट पक्षका पनि परेकाले रञ्जित कर्ण समूहले बिहीबार धमाधम नाम काट्ने
 काम गर्यो । 
 
यसरी आफूले नै छानेका प्रतिनिधि काट्नु अर्को अकर्मण्डयता प्रस्तुत गर्नु हो । अन्ततः कुरा मिल्यो । त्यो पनि आन्दोलित भएको कुन्दन काफ्ले र पूर्व अध्यक्ष महेन्द्र शर्मा समूहलाई निश्चित प्रतिनिधि दिएर । 
 
यो चुनाव जित्नका लागि गरिएको प्रपञ्चमात्र हो । चुनाव सकिएपछि ती प्रतिनिधि सबै घाँडो बन्दै जान्छन् । 
 
झण्डै ३४ सय प्रतिनिधि हुनेछन् भोट हाल्न । तर के तिनीहरु सबै आधिकारिक हुन् त ? शंका छ । 
 
 
नौ वर्षसम्म नेविसंघको महाधिवेशन नहुँदा निम्तिएको परिणामले नै सिङ्गो पार्टीलाई असर पारेको छ । त्यतिमात्र होइन प्रजातान्त्रिक पार्टीबाट सिक्ने धेरै हुन्छन् । अरु पार्टी र भ्रातृ संस्थाले के सिक्ने ? 
 
दिनभर नतात्ने नेताहरु रातभर तातेर गर्ने अनिद्रे निर्णय कसरी पो पूर्णत होला र । 
 
मुस्किलले शुक्रबार बिहान २ बजे असन्तुष्ट पक्ष कुन्दन काफ्ले समूहले आफ्ना प्रतिनिधि बुझाएको थियो । जति मागियो त्योभन्दा दोब्बर बुझाइयो । किनकि एउटा नपरे अर्को पर्ला । 
 
त्यस्तै महेन्द्र शर्मा समूहलाई बिहीबार राति ११ बजे फोन गरेर महतले नामावली मागे । शर्मा झोक्किए ‘यतिराति मैले कहाँबाट ल्याउने ?’ शर्मा भन्छन् ‘अर्को दिन बिहानै नामावली लैजाने काम भयो ।’
 
कोठे राजनीति गर्नमा नेपाली दलहरु च्याम्पियन छन् । त्यसमा पनि काँग्रेसले कोठे राजनीति गरे प्रजातन्त्र खोज्न कहाँ जाने ? 
 
अहिलेलाई जे भयो भयो । यसबाट पाठ सिक्ने आशा त गर्न सकिन्न । यदि नैतिकता बाँकी रहेछ भने विधानको पूर्णतः पालना गरी १२ औं महाधिवेशन हुने विश्वास भने राख्न सकिन्छ । 
 
विना विश्वास कसरी आस्था राख्ने । यदि आस्था काट्ने हो भने नेविसंघ निकै खतरापूर्ण मोडमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ