arrow

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने, केन्द्रमा मिडिया सेन्टर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
dr-ramsharan-mahat-speaker-nc-78-83.jpg

सानेपा । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

समितिको बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगर र वार्ड कार्यसमितिमा आवश्यकता अनुसार प्रचार संयन्त्रको गठन गर्न निर्देश गर्ने ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले डा. महतको संयोजकत्व रहेको स्थानीय निर्वाचनको केन्द्रीय प्रचार प्रसार समितिमा शुक्रबार ६७ जना मनोनयन गरेका थिए । सो समितिको शुक्रबार बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ । 

समितिले भनेको छ, “प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने । स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय संचार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने ।”

समितिले पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निमार्ण गर्ने र रेडियो, एफएम टीभी, प्रिन्ट मिडिया, अनलाइन तथा समाजिक सञ्जाल जस्ता विभिन्न सञ्चार माध्यमहरुबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय पनि गरेको छ । 

समितिले उक्त कार्यका लागी पार्टी सम्वद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ वुद्धिजीवी , सञ्चारकर्मी र अन्य पेशागत संस्था र साथीहरुलाई परिचालन गर्ने तथा प्रचार सामग्री, उत्पादन तथा सञ्चारका लागि आवश्यक उप–समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

समितिले नेपाली कांग्रेसका सम्पूर्ण जानकारी दिन मिल्ने गरी एक एप बनाउने र त्यसलाई प्रचार प्रसारका लागि उपयोग गर्ने तथा आवश्यकता अनुसार परिस्कृत गर्दै जाने निर्णय पनि गरेको छ ।

समितिले सञ्चार विज्ञ, भातृ एवं शुभेच्छुक संस्था र पार्टीका युवापंक्तिलाई प्रचारमा परिचालित गर्ने निर्णय गर्दै युवा विद्यार्थीलाई आ–आफनो गाउँ–नगरपालिकामा केन्द्रीत भई पार्टीको प्रचार प्रसार र सामाजिक सञ्जालको माध्यमबाट पार्टीका पक्षमा जनमत वनाउन अपिल गर्ने निर्णय पनि गरेको छ ।

समितिको बैठकले प्रचार प्रसार विषयमा विज्ञ, बुद्धिजीवी, वरिष्ठ पत्रकारहरु सम्मिलित एक सल्लाहकार समिति गठन गर्न संयोजकलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

समितिको शुक्रबारको बैठकले प्रत्येक क्षेत्रीय कार्यसमितिलाई आफुभित्रका पालिकामा प्रचार प्रसार समिति गठन गर्न र त्यस्ता समिति गठन गर्दा नेपाल प्रेस युनियनसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।

समितिको बैठकले पालिका स्तरीय प्रचार प्रसार समितिलाई पालिकाको जनसंख्याको वनौटलाई समेत मध्यनजर गरी प्रतिनिधित्व गराउने,स्थानीय घोषणा पत्र तयार गर्ने, कांग्रेसको मुद्दालाई जनतासम्म पु-याउन निर्वाचन आचार संहिताको व्यवस्था भित्ररही आवश्यक सामग्री तयार गरी सम्प्रेषण गर्ने, स्थानीय सञ्चार माध्यमलाई कांग्रेसको पक्षमा प्रचार प्रसार गर्न व्यवस्था मिलाउने,स्थानीय साथीहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्न अभ्यस्त बनाउने वातावरण तयार पार्ने तथा त्यसका लागि संयोजक एवं पार्टीका विभिन्न तहलाई परिचालन गर्न जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ ।

प्रचार प्रसार समितिको पहिलो बैठकले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सम्भव भएमा मतदानको बेलामा स्वदेशमा आइ नेपाली कांग्रेसलाई मतदान गर्न आव्हान गर्ने र सो सम्भव नभए आ–आफ्नै स्थानबाट विभिन्न माध्यमले आफ्नो गाउँ, नगर, घर परिवारका साथै सम्पर्क भएसम्मका व्यक्तिहरुलाई नेपाली कांग्रेसको पक्षमा मतदान गर्न प्रेरित गर्न अपिल गर्ने निर्णय पनि गरेको छ । 

उक्त कार्यमा समन्वय एवं सहयोग गर्न विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई परिचालन गर्ने पनि कांग्रेस प्रचार समितिले निर्णय गरेको छ ।

कांग्रेसको प्रचार प्रचार समितिले पार्टीको घोषणा पत्र, प्रचार प्रसार सामग्री र नारा तयार गर्दा नेपाली कांग्रेसको सरकार र नेपाली कांग्रेस विजयी भएको स्थानीय तहले देश र जनताको हितमा गरेका कामहरु र आगामी निर्वाचनमा विजयी भएपछि गर्ने भावी कार्यक्रम जनतासम्म पु¥याउने गरी काम गर्न पनि निर्देशन दिएको छ ।

कांग्रेसले प्रतिपक्ष पार्टीका गलत कार्यबारे जनतालाई जानकारी दिने तथा सचेत गराउने गरी काम गर्न सबै तहका निर्वाचन प्रचार तथा प्रसार समितिलाई परिचालन गर्ने पनि निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ