arrow

कांग्रेस र माओवादीको गढमा पाहुना लागेका नेतालाई उम्मेदवार बनाएर चुनाव जित्ने एमालेको रणनीति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
Congress-UML-Maoist.jpg

काठमाडौं । स्थानीय तहको मिति बैशाख ३० गते नजिकिदो छ । दलहरु माहोल बनाउँदै छन् । सोही क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गाउँमा निर्वाचनको माहोल बनाउँदै गर्दा निर्वाचन जित्ने उम्मेदवारको खोजीमा लागेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र्रले चुनाव जितेका स्थानीय तहमा एमाले पार्टीभन्दा बाहिरका उम्मेदवार उठाएर भए पनि जित्ने कोसिसमा लागेको हो ।

त्यसका लागि एमालेले तल्लो कमिटीलाई त्यस्ता व्यक्तिहरु पहिचान गरी केन्द्रमा पठाउने र सकेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी प्रवेश गराउने रणनीतिमा लागेको छ । ‘अहिले एमाले शहर र गाउँमा उम्मेदवारको खोजीमा जुटेको छ । पार्टी प्रवेश पनि यसैको एउटा कारण हो’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । 

कांग्रेस र माओवादीले निर्वाचन जितेको स्थानमा एमालेले आफ्नै कार्यकर्तालाई भन्दा बाहिरबाट आएका व्यक्तिलाई टिकट दिएर जीत हात पार्ने रणनीतिमा लागेको ती स्थायी कमिटी सदस्यले भने । खासगरी कांग्रेस र माओवादी बलियो रहेको जिल्लामा एमालेले निजामती कर्मचारीबाट अवकाश पाएका व्यक्तिहरु, सामाजिक सेवामा क्रियाशील रहेका व्यक्तिहरुलाई पार्टीमा ल्याएर निर्वाचनमा पठाउने रणनीतिमा लागेको हो । 

निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २२१ पदका लागि स्थानीय तहमा निर्वाचन हुँदैछ । आयोगले स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गतेलाई तोकी उम्मेदवारी दिने मितिसमेत तय गरिसकेको छ । 

यस्तो अवस्थामा एमालेले देशव्यापी रुपमा माओवादीसहित अन्य दलका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइरहेको छ । २०७४ सालमा एमाले एक्लैले करिब ४४ प्रतिशत स्थानीय तहमा जीत हासिल गरेको थियो । मधेसमा मधेसवादी दल र अन्य स्थानमा कांग्रेस र माओवादीले निर्वाचन जितेको थियो । यस्तो अवस्थामा एमालेले यसपटक कांग्रेस र माओवादीका स्थानीय तहमा आँखा लगाएको छ । 

‘भरसक आफ्ना कुनै पनि तह नगुमाउने गरी अघि बढेका छौं, कांग्रेस र माओवादीले जितेको स्थानमा उनीहरुलाई नै प्रयोग गरेर हात पार्ने नीति रहेको छ’, एमाले हाइकमाण्डका एक नेताले भने । उनका अनुसार अहिले एमालेका सबैजसो केन्द्रीय सदस्यहरु जिल्ला र गाउँपालिकामा क्रियाशील रहेका छन् । 

तर एमालेमा धेरै नेताहरु रहेका कारण उम्मेदवार छनोट गर्न पनि मुस्किल रहेको छ । एमालेका धेरैजसो नेता कार्यकर्ताहरु स्थानीय तहको निर्वाचनमा व्यवस्थापन हुने अपेक्षासहित संगठन निर्माणमा खटिएका छन् । तर पार्टी केन्द्रले बाहिरबाट मान्छेहरुले ल्याएर नेता बनाउने वा स्थानीय तह जिम्मा लगाउने अवस्थामा आएमा ठूलो संख्यामा असन्तुष्टि बढ्ने संभावना पनि उत्तिकै रहेको छ । 

‘आकांक्षी छान्ने पनि चुनौती रहेको छ, कहिलेकाहिँ निर्वाचन जित्ने र उपयोग गर्ने रणनीति अनुसार बाहिरबाट व्यक्तिहरु पार्टीमा ल्याएर पनि निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ’, एमाले नेताहरुको भनाइ छ । तर कार्यकर्ताहरुले पाहुना लागेका नेताहरुलाई सहजै सहयोग गर्ने अवस्था भने छैन । 

अहिले निर्वाचनसँगै एक पार्टीको नेता–कार्यकर्ता अर्को पार्टीमा प्रवेश गर्ने प्रचलनको रोकिनु भन्दा पनि बढेको छ । एमालेले त त्यसलाई उत्सवकै रुपमा लिएको छ । बैशाख ३० गतेको स्थानीय तहका लागि मात्रै होइन, आगामी संसदीय निर्वाचनलाई समेत लक्षित गरेर नेताहरुले पनि दल परिवर्तन गरिरहेका छन् । 

गएको दुई महिनाको तथ्य केलाउने हो भने दल बदल्नेहरुको एउटा उद्देश्य देखिन्छ– जता अवसर, त्यतै जाने स्थिति बनेको छ । उनीहरुले पार्टीको सिद्धान्त, त्यसले आमजनका लागि गरिरहेको काम र उक्त पार्टीप्रति आफ्नो अस्थालाई अवसरमा परिवर्तन गरिरहेका बेला एमालेले त्यसलाई उपयोग गर्ने नीति लिएको देखिन्छ । यसपल्ट कम्युनिष्टबाट कम्युनिष्ट मात्रै होइन वा लोकतान्त्रिक पार्टीबाट त्यस्तै पार्टीमा मात्रै होइन, अन्यमा पनि पुगेर अवसरलाई ‘क्यास’ गर्ने अवस्थालाई एमालेका केन्द्रीय नेताहरुले उपयोग गर्न खोजेपछि स्थानीयस्तरका नेताहरु भने सशंकित बनेका छन् ।

यसअघि आफूले टिकट पाएर निर्वाचन जितेका पार्टीबाट यसपटक टिकट नपाउने अवस्था बनेपछि धेरै जसो स्थानीय तहका जनप्रतिनिधिहरुले एमालेको सहारा खोजेका छन् । 

उनीहरुले एमालेमा रहेका कार्यकर्ताहरुलाई अन्याय गर्ने भएकाले उनीहरुको असन्तुष्टि छताछुल्ल हुने अवस्थामा आएमा एमाले झन संकटमा पर्नेछ । ‘एमालेको संगठनमा आएर निर्वाचनमा भाग लिन नेताहरु लोभिने र भरसक निर्वाचन पनि जितिहाल्ने अवस्था भएकाले पार्टी प्रवेशमा सबैभन्दा अगाडि एमाले रहेको तर यसले एमालेका इमानदार कार्यकर्ताहरु ओझेलमा पर्ने संभावना भने बढ्दै गएको छ’, एमालेका एक नेताको भनाइ छ ।

एमालेले यसअघि केही स्थानीय तहका निर्वाचनमा बाहिरबाट मान्छे पार्टीमा ल्याएर निर्वाचन जितेका उदाहरणहरु रहेका छन् । २०५४ सालमा ललितपुर नगरपालिको मेयरमा बुद्धिराज बज्रचार्य, नेपालगञ्जको मेयरमा हाल राप्रपाका महामन्त्री रहेका धवलशमशेर राणालाई एमालेमा ल्याएर निर्वाचन जितेको थियो । उनीहरु दुवै पछि आफ्नो पुरानो घर फर्केका थिए । अहिले पनि केही स्थानमा एमालेले पुरानो नीतिलाई दोहोर्याउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ