arrow

स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य : उपाध्यक्ष गौतम

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
bamdev-gautam.jpg.jpeg
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । 
 
अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागले आज आयोजना गरेको राष्ट्रिय कार्यशालाको शुभारम्भ गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि कार्यकारी प्रमुखका रुपमा राष्ट्रपतिलाई स्थापित गर्नुपर्ने बताए । 
 
विगतमा धेरै पटक सरकार ढलेको स्मरण गर्दै उनले सरकारले ल्याएका योजना तथा बजेटलाई कार्यान्वयन गर्न नसकिएकाले राजनीतिक अस्तव्यस्तता बढेकोमा चिन्ता व्यक्त गरे । 
 
अखिल नेपाल किसान महासङ्घका अध्यक्षसमेत रहेका गौतमले विभिन्न जातजातिका नाममा देशमा विभाजन ल्याउने खतरा बढेको बताउँदै आफ्नो पार्टीले त्यस्तो षडयन्त्रका विरुद्ध दृढताका साथ प्रतिवाद गर्ने प्रष्ट पारे । 
 
महासङ्घका सहअध्यक्ष केशवलाल श्रेष्ठले देश विकासका लागि जमिनको महत्व रहेको विचार राख्दै खेतीयोग्य जमिनमाथि व्यक्तिगत स्वामित्व हटाउनुपर्ने बताए । 
 
शनिबारसम्म चल्ने उक्त कार्यशालामा करिब १०० जनाको सहभागिता रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ