काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन सिप अन्तर्गत नेपालले आफ्नो चौथो चरणको खेलमा यही साउन २९ तथा ३१ गते गरेर २ खेल नेदरल्याण्डमा खेल्ने छ। जारी प्रतियोगिताको अंक तालिकामा छैटौ स्थानमा रहेको नेपालले तालिकामा पहिलो स्थानमा रहेको नेदरल्याण्ड विरुद्द उसकै घरेलु भुमीमा खेल्न लागेको हो।
कुल ८ टोली सम्मेलित प्रतियोगितामा 'होम एण्ड अवे ' नियम को आधारमा हुने १४ खेलमा ६ खेल खेलिसकेको नेपालले केवल ४ अंक जोडेको छ। जसकारण नेपाललाई शिर्ष चारमा पर्नलाई नेदरल्याण्ड बिरुद्दको खेल जित्नै पर्ने चुनौती रहेको छ। नेदरल्याण्ड बिरुद्दको खेलको नतिजाले जारि प्रतियोगितामा नेपालको यात्रा कस्तो हुनेछ भन्ने तय गर्ने छ।
आफ्नो लगातार पहिलो ४ खेलमा पराजित भएको नेपालले पछिल्लो चरणमा घरेलु मैदानमा भएको नामिविया विरुद्द २ खेलमा विजयी रहदै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो शिर्ष चारमा पर्ने आशा जिवितै राखेको छ। जारि प्रतियोगितामा अपराजित रहेको नेदरल्याण्डले ४ खेलमा जित हासिल गरेको छ भने २ खेल बर्षाको कारणले रद्द हुदै १-१ अंकमा चित्त बुझाउनु पर्यो। प्रतियोगिताको सबै भन्दा बलियो टोलीको रुपमा रहेको नेदरल्याण्डलाई उसकै घरेलु मैदानमा हराउन पक्कै पनि नेपाललाइ सजिलो हुनेछैन।
युरोपियन पिच नेपाली टोलीको लागि सहज भने छैन। सन् २०१५ को एक दिवशिय विश्वकपको लागि न्युजिल्याण्डमा भएको छनोट खेलमा तथा टि २० विश्वकप २०१६को लागी स्कटल्याण्ड तथा आयरल्याण्डमा भएको छनौट प्रतियोगितामा नेपाल नराम्रोसँग पराजित हुन पुगेको थियो। यस्तो अवस्थामा नेपालले नेदरल्याण्ड जानु पुर्व गरेको इङ्गल्याण्ड भ्रमणमा गरेको गर्विलो प्रदर्शनले टोलीमा आत्मविश्वाश भरिएको छ। साथै उक्त भ्रमण पछि सबै खेलाडी पुर्ण फिट तथा फर्ममा रहनुले पनि नेपाली टोली तथा नेपाली क्रिकेटका शुभ चिन्तकलाई उत्साहित बनाएको छ। हाल सम्म नेपाल र नेदरल्याण्ड २ पटक मैदानमा भेटका छन् जसमा दुबै टोली समान १-१ पटक विजयी भएका छन्।
पहिलो पटक राष्ट्रिय टोलीमा परेका खेलाडी प्रतिभावान युवा खेलाडी सुनिल धमला नेपाली टोलीले ओपनिङ्गमा समस्या झेलिरहेका बेला राम्रो विकल्प हुन्। बेलायत भ्रमणमा सुबास खकुरेलले राम्रो प्रदर्शन गर्न नसकेपछि राष्ट्रिय टोलीमा उनको स्थानमा आएका हुन्।
अनिल मण्डल युरोपियन पिचसँग अभ्यस्त मानिन्छन्। स्कटल्याण्ड विरुद्दको पहिलो खेलमा शतक प्रहार गरेका उनले इङ्ल्याण्डमा भ्रमणमा पनि राम्रो प्रदर्शन गरेका थिए। अर्का ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङ्गमा सन्तोषजनक प्रदर्शन गर्दै आएका छन्। यसरी हेर्दा नेपाली टोलीको ओपनिङ्ग समस्या तुलनात्मक रुपमा सुल्झिएको आशा गर्न सकिन्छ।
यो प्रतियोगितामा उच्च फर्ममा रहेका नेपालका शरद भेष्वाकर, पारस खड्का, नेपालका म्याच विनर खेलाडी हुन्। हाल टोलीमा ५ अलराउण्डर रहेकाले नेपाली टोली सन्तुलित देखिन्छ। पछिल्लो इङ्गल्याण्ड भ्रमणमा टोलीका समग्र खेलाडीको सन्तुलित प्रदर्शन रहेको थियो। लर्डसमा 'एम सीसी" सगँ समेत गरेर ५ खेल खेलेको नेपालले सबै खेल जितेको थियो। नेपाली टोलीको रहेको ब्याटिङ् पक्ष कमजोर रहने गरेकोमा पछिल्लो समय क्रमश सुढृढ हुदै गएको देख्न सकिन्छ। ब्याटिङ्गमा सधै पारस, ज्ञानेन्द्र, तथा शरदको भरमा रहेको नेपाली टिम पछिल्लो समय अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन्।
बलिङ्ग पक्ष नेपाली टोलीको सधै प्रमुख हतियार रहदै आएको छ। बलिङ्गमा नेपाली युवा बलर सन्दिप लामिछाने नेदरल्याण्ड टोलीका लागि सरप्राइज बलर हुन सक्छन् भने शक्ती गौचन, बसन्त रेग्मी नेपालका अनुभवी तथा भरपर्दा स्पिनर हुन्। नेपाली पेस बलिङ् एकतर्फ सोमपाल कामीले समाल्ने करिब पक्का छ भने उनलाई साथ दिन अनुभवी फास्ट बलर करन केसी वा इङ्गल्याण्ड भ्रमणमा राम्रो प्रदर्शन गरेका विक्रम शोब हुने छन्।