arrow

'बाँस्कोटाका प्रिय पात्र सुनिल पौडेल'लाई टेलिकममा ल्याइने चर्चा

चौतर्फी सेटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
Nepal-Telecom-NTC.png

काठमाडौं । नेपाल टेलिकममा प्रबन्ध निर्देशक (एमडी) नियुक्ति प्रक्रिया अघि बढेको छ । सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाविरुद्ध परेको मुद्दा खारेज गरेसँगै नयाँ एमडी छनोट प्रक्रिया अघि बढेको हो ।

मुद्दा खारेज भएसँगै चारैतिर सेटिङ मिलाएर शक्तिकेन्द्र बनेका सुनिल पौडेल टेलिकमको एमडी बन्ने सम्भावना झनै बढेको छ । 

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाका प्रिय पात्रका रूपमा चिनिएका पौडेल अनेकौँ अनियमितताका काण्डमा मुछिएका व्यक्ति हुन् ।

सञ्चार मन्त्रालयमा आफ्नो पकड बनाउन हरेक बेलाको नेतृत्वलाई रिझाउने पौडेलले अहिले समेत मन्त्रीसहित सबैतिर सेटिङ मिलाइसकेको सञ्चार मन्त्रालयका एक अधिकारीले बताए । 

ती अधिकारीका अनुसार पौडेललाई नै टेलिकमका ल्याउने गरी टेलिकमको एमडी नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका परिवर्तन गरी उनी अनुकूल बनाइएको थियो । पौडेललाई टेलिकममा ल्याउन चारैतिर सेटिङ मिलाउने काममा मुख्य भूमिका विकल पौडेलले खेल्दै आएका छन् ।

सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन् भने, विकल पौडेल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् ।

एमडीका दाबेदार

टेलिकमको एमडीका लागि ९ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा टेलिकमका पूर्व एमडी बुद्धिप्रसाद आचार्य, टेलिकमको वर्तमान प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी, इन्जिनियर अर्जुनबाबु ढकाल र सुनिल पौडेल रहेका छन् ।

यस्तै, टेलिकमकै पूर्व कर्मचारी प्रदीपराज उपाध्याय, सुरजसिंह थापा र टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंह, दीपक बहादुर शाही र नगेन्द्र कुमार दास पनि रहेका छन्।

टेलिकमको एमडी नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७२ लाई २०७५ मा तत्कालीन प्रबन्ध निर्देशक नियुक्तिकै क्रममा नयाँ निर्देशिका जारी गर्दै प्रतिस्थापन गरिएको थियो। 

आवेदन दिनेमध्ये सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन् । उनलाई २०७५ साउनमा केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

अहिलेको निर्देशिका संशोधन पौडेललाई नै एमडी बनाउनका लागि भएको भन्दै टेलिकमका कर्मचारी एवं अधिकारीहरूले यसको विरोध गरिरहेका छन् ।

पुरानो निर्देशिकाको प्रावधानलाई हटाएर नयाँ लागू गर्न खोज्नु संस्थागत हित प्रतिकूल हुने कर्मचारी युनियनको ठहर छ ।

अघिल्लो पटक टेलिकमको प्रबन्ध निर्देशकका लागि उमेर ४० पूरा भएर ५८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान थियो। अहिलेका लागि उक्त प्रावधान घटाएर ३५ वर्ष पूरा भएर ५६ वर्ष ननाघेको हुनुपर्ने बनाइएको छ।

अर्को नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिको दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा अधिकृत स्तरको पदमा कम्तीमा १५ वर्ष र  वरिष्ठ अधिकृत वा व्यवस्थापकको पदमा ५ वर्ष काम गरेको हुनुपर्ने प्रावधान थियो ।

तर, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई नियुक्त गर्नकै लागि प्रावधान फेरेर १५ वर्षको ठाउँमा १२ वर्ष र ५ वर्ष वरिष्ठ अधिकृत भएर काम गरेको हुनुपर्ने प्रावधानलाई ३ वर्षमा झारिएको टेलिकमका कर्मचारीहरूको भनाइ छ । पौडेलले वरिष्ठ सरकारी व्यवस्थापनमा काम गरेको पनि ठ्याक्कै तीन वर्ष कटेको छ ।

पौडेललाई नै टेलिकमको एमडी बनाउन मापदण्ड परिवर्तन गरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

को हुन् सुनिल पौडेल ?

विभिन्न विवादमा तानिएका व्यक्ति हुन् सुनिल पौडेल । तत्कालीन विवादित सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नै पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नियुक्त गरेका थिए ।

त्यहाँ नियुक्त गरेसँगै पौडेल सूचना प्रविधिसम्बन्धी खरिद प्रक्रियामा विवादमा तानिएका थिए ।

विभिन्न सरकारी खरिदको परामर्शदातासमेत रहने गरेका पौडेलमाथि निश्चित व्यवसायीलाई मात्र स्पेसिफिकेसन मिल्ने गरी काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।

सुनिल पौडेलसँगै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक रहेका विकल पौडेल पनि अनेकौँ विवादमा मुछिएका व्यक्ति हुन् ।

मेसिन रिडएवल पासपोर्ट (एमआरपी), इम्बोस्ड नम्बर प्लेट, नेसनल पेमेन्ट गेटवे, स्मार्ट लाइसेन्स, बैङ्क नोट, इम्बोस्ड नम्बर प्लेट, अन्तःशुल्क स्टिकर ग्रुपवेयर लगायतको खरिदका लागि सेटिङ मिलाउने मुख्य भूमिका सुनिल र विकलले खेलेको आरोप छ ।

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले अनियमितता गर्न खोजेको आरोप लागेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको स्पेसिफिकेसन तयार गर्नेमा पनि यी दुवै जना सामेल थिए ।

विकलको योजनामा सूचना प्रविधि केन्द्रमार्फत कमिसनका लागि हचुवाका भरमा १५ करोड मूल्य पर्ने नेशनल पेमेन्ट गेटवे २५ करोड हालेर खरिद गरेको रिपोर्टसमेत सार्वजनिक भएको थियो ।

सूचना प्रविधिका क्षेत्रमा बढ्दो सरकारी लगानीको फाइदा उठाउँदै सचिवदेखि मन्त्रीसम्मलाई आफ्नो कोल्टामा पारेर केही अधिकारीहरूले यसरी भ्रष्टाचार गर्न खोजेको एक थरी आरोप छ । हुन पनि, सुनिल पौडेल त्यति बेला तत्कालीन सञ्चार मन्त्री बाँस्कोटाका प्रिय पात्र बनेका थिए ।

अहिले टेलिकमको एमडी बन्नका लागि वर्तमान सञ्चार मन्त्रीलगायत शक्तिकेन्द्रलाई सुनिल पौडेलले रिझाइसकेको टेलिकमका अधिकारीको दाबी छ ।

को हो टेलिकमका लागि सबल नेतृत्व ?

अनेकौँ विवादमा तानिएका र सरकारी संस्थानको भविष्य नै सङ्कटमा पार्न सक्ने किसिमका सुनिल पौडेलबाहेक अरू जो सुकै एमडी भएर आए आफूहरू स्वागत गर्न तयार रहेको टेलिकमका कर्मचारीहरूको भनाइ छ ।

अनुभव र सकारात्मक किसिमले टेलिकमलाई गति दिइसक्नेमा टेलिकमभित्रै काम गरिसकेका र काम गरिरहेका व्यक्तिहरूमाथि कर्मचारीहरूको अपेक्षा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ