arrow

सर्वसाधारण कुटपिट गर्ने एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष सरु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
saru-rai-fafkok.PNG

इलाम । फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) लाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको जनाएको छ । केही दिन अघि सोही पालिकाका वडा नम्बर १ का वडासदस्य कृष्णबहादुर खड्कालाई हातपात गरेपछि उपाध्यक्ष राईलाई इलाम प्रहरीले नियन्त्रणमा लिएको हो । 

खड्कालाई उपाध्यक्ष राईले गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर हातपात गरेकी थिइन् । कुटपिटपछि घाइते खड्काले प्रहरीमा जाहेरी दिएका थिए । 

घाइते खड्का कांग्रेस फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १ का सदस्य रहेका छन् । जाहेरी परेपछि प्रहरीले उनलाई खबर गरेसँगै उपाध्यक्ष राई आफै जिप्रका इलाम पुगेकी थिइन् । उनी पुग्ने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो । 

'वहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । कानुनी प्रक्रिया अन्तर्गत कारबाही गरिने छ । ' जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी गङ्गाबहादुर थापाले भने । डिएसपी थापाले उनको आजै म्याद थप गर्ने प्रक्रिया अघि बढी सकेको जानकारी दिए ।

मौसमी कामदार कोरिया पठाउने विषयमा लिएर उपाध्यक्ष राईले अश्लील गाली गर्दै खड्कामाथि हातपात गरेको पीडितको दाबी छ । गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भई यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । 

गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो । कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । सोही विषयमा विवाद हुँदा पालिकाकी उपाध्यक्ष राईले खड्कालाई हातपात गरेको बताइएको छ । 

उपाध्यक्ष राई एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ