नेपालगन्ज । नेपालको संविधान २०७२ को अवधी अनुवाद गरिएको छ । अवधीमा अनुवाद गरिएको संविधानको डुडुवा गाउँपालिकाका बाँकेका अध्यक्ष नरेन्द्र कुमार चौधरीले मङ्गलवार दिउँसो विमोचन गरेका छन् ।
डुडुवा गाउँपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेको अगुवाइमा नेपालको संविधानलाई अवधीमा अनुवाद गरिएको हो । नेपालगन्जका स्थानीय शिव प्रसाद पाठकले अवधीमा अनुवाद गरेका हुन् ।
अवधी भाषीहरूको सहजताका लागि नेपालको संविधान अवधीमा अनुवाद गरिएको हो । नेपालमा नवलपरासीदेखि बर्दियासम्म अवधी भाषी समुदायको बाक्लो बसोबास छ ।
विमोचन कार्यक्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष चौधरी, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख झंकर रावल, अवधी भाषा विज्ञ विजय बर्मा, अनुवादक पाठक लगायतले संविधान अवधी भाषामा अनुवाद गरिनु निकै प्रशंसनीय कार्य भएको बताए ।
मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारीको अध्यक्षमा भएको विमोचन कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक राकेश कुमार मिश्रले गरेका थिए ।