- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
किमाथाङ्का । सङ्खुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सातजना विरुद्ध सङ्गठित अपराधमा छानविनका लागि सङ्खुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ । जग्गाधनीलाई जानकारी नै नदिई २७ रोपनी रजिस्ट्रेशन पास गर्न भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसहित सातजना विरुद्ध सङ्गठित अपराधमा अनुसन्धानका लागि १५ दिन म्याद थप गरिएको अदालतका स्रेस्तादार केदार गौतमले जानकारी दिए ।
जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष भोटे र नासु पराजुलीसहित सातजना विरुद्ध म्याद थप गरेर थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।
यसैगरी भोटखोला-४ सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमालाजुङ भोटे, मकालु गाउँपालिका-४ घर भाइ खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पालाई पनि सोही अपराधमा म्याद थप गराई अनुसन्धान गरिरहेको उनले जानकारी दिए । सङ्गठित अपराधअन्तर्गतको मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ की विममाया तामाङका नामबाट जालसाजी गरी ठगी गरेको भन्दै गत फागुन २२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।स्थानीयवासी दलबहादुर तामाङका नाममा रहेको करिब रु तीन करोड पर्ने कित्ता नं २७५ र २८० को २७ रोपनी जग्गा गत फागुन १ र २ गते वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा रजिस्ट्रेशन पास गराइएको थियो ।
वृद्धभत्ताको कागज भन्दै औँठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपिसमेत निकालिएको थियो। आफ्नो नाममा जमिन आएलगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेका नाममा संयुक्तरुपमा पास गरिएको विममायालाई पत्तै थिएन। कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरुङका नाममा वारेस राख्न दिइए पनि वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले जनायो।
मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई रु २० हजार दिएको पीडितको भनाइ थियो । विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए। बिक्री भएको दुई कित्तामध्ये २७५ नंको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीका नाममा रजिस्ट्रेशन पास गरिएको थियो ।
प्रहरी प्रमुख सुवेदीका अनुसार उनीहरूले माथिल्लो अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ। अन्य चार कित्ता भने विममायाकै नाममा सुरक्षित छ। मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल रु एक लाखको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गाधनी विममायालाई रु २० हजार मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ। पक्राउ परेकालाई ठगी र कीर्ते मुद्दा चलाइने प्रहरीले जनाएको छ।
उक्त जग्गा १०६३ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माण क्षेत्रमा पर्छ । आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा रु पाँच लाख निर्धारण गरेको थियो । गाउँपालिकाको वडा नं २, ४ र ५का विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भेक्षण र जग्गा प्राप्तिको काम तीव्र गतिमा बढिरहेको छ।
को हुन् विममाया ?
उक्त जग्गा प्रकरणमा विममाया भनेर प्रस्तुत भएकी महिला स्वयं चिण्डीमाया तामाङका भएको पाइएको छ । गत २२ फागुनमा विममाया तामाङका नामबाट जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रबाहेक अन्यत्र कहीँ भेटिएको छैन ।
अहिलेसम्म चिण्डीमाया नै विममाया भनेर परिचित छिन् । जन्म, विवाह, मृत्युलगायत व्यक्तिगत घटना प्रमाणित गर्ने वडाध्यक्षले दलबहादुर तामाङको उत्तराधिकारी चिण्डीमायालाई विममाया भनेर सिफारिस र प्रमाणित गर्नु रहस्यमय बनेको छ । जग्गाधनी दलबहादुर तामाङ २०५८ सालमा नै मृत्यु भइसकेको, सन्ततिका रूपमा एक मात्र छोरी चिण्डीमाया भए पनि विममायालाई उत्तराधिकारी बनाई विममायाका नाममा जग्गा नामसारी गरिएको छ थियो ।
गत फागुन १ गते विममायाका नाममा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निकालियो । २ गते सोही नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा उल्लिखित विममायाका नाममा मालपोत कार्यालयबाट दलबहादुरका नाममा रहेको छ कित्ता जग्गा नामसारी गरियो ।
त्यसै दिन विममायाका नाममा नामसारी भइआएका छ कित्ता जग्गामध्ये अधिग्रहणमा परेका दुई कित्ता जग्गा कित्ता नं २८० को करिब २४ रोपनी जग्गा कल्पना र ङिमालाजुङको संयुक्त नाममा र कित्ता नं २७५ का करिब तीन रोपनी जग्गा पासाङ का नाममा राजीनामा पास गरी जग्गाको रजिष्ट्रेशन गराइएको थियो ।
सोही गाउँपालिकाभित्र निर्माण हुन लागेको जलविद्युत् आयोजनाले अधिग्रहणमा परेका जग्गाहरूको कित्ता नम्बर र क्षेत्रफलसहितको सूचना प्रकाशन गरेपछि यो घटनाको बिजारोपण भएको थियो ।