arrow

साहसिक चालकलाई ओजस्वी पुरस्कार

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
काष्ठमण्डप-एयरलायन्स.jpg.jpeg
काठमाडौँ । न्यौपाने बन्धु समाजले विमानचालक स्व दिनेश न्यौपानेलाई नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार प्रदान गरेको छ । 
 
आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चिरस्मरणीय र गौरवशाली कार्य गरेबापत कदरस्वरुप उनलाई समाजले आज आयोजित समारोहमा उक्त सम्मान पुरस्कार प्रदान गरेको हो । 
 
पुरस्कारको राशि रु ११ हजार १११ नगद र सम्मानपत्र रहेको छ । समारोहमा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले चालक न्यौपानेका पिता मानदत्त, आमा वीरलक्ष्मी र पत्नी रजनीलाई संयुक्तरुपमा उक्त पुरस्कार हस्तान्तरण गरे । 
 
गत फागुन १४ गते नेपालगञ्ज–जुम्ला उडानमा रहेको काष्ठमण्डप एयरलायन्सको 9NAJB विमानमा अचानक खराबी आएपछि कालिकोटको चित्खायामा आपत्कालीन अवतरण गराउने क्रममा चालक न्यौपानेको निधन भएको थियो । 
 
एउटा मात्र इन्जिन भएको उक्त जहाज आपत्कालीन अवतरण गराउँदा त्यसमा सवार नौ यात्रु घाइते भएका थिए । सो दुर्घटनामा को–पाइलट सन्तोष रानाको पनि निधन भएको थियो । यात्रुको जीवनरक्षाका लागि प्राण आहुति दिने कार्य गरेको भनी चालक दलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो प्रशंसा भएको थियो । 
 
विसं २०४३ जेठ ३० गते डोल्पाको दुनैमा जन्मिएका न्यौपाने विद्यालयस्तरको पठाइको सिलसिलामा नेपालगन्ज जाने क्रममा चालकको पोसाक र आकाशमा उड्ने रहर राखेर विमान चालक बन्ने अठोट गरेका थिए । उनले अफ्रिकाबाट चालकसम्बन्धी उच्च शिक्षा हासिल गरेका हुन् । 
 
समारोहमा मुलुकभरका न्यौपानेका छोराछोरीमध्ये २०७२ सालमा सञ्चालन भएको उच्च माध्यामिक विद्यालयको वार्षिक अन्तिम परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र आभाष न्यौपाने र छात्रा रोशनी न्यौपानेलाई जनही रु ११ हजार १११ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरियो । 
 
पूव सचिव एवम् समाजका अध्यक्ष वामनप्रसाद न्यौपानेले समाजको भवन निर्माण र वंशावली तयार गर्ने अठोट व्यक्त गरे। पूर्व मन्त्री हरिप्रसाद न्यौपाने र चालकका पिता मानदत्तले आफू मरेर गए पनि विमानमा सवार यात्रुको ज्यान जोगाएर पुर्‍याएको योगदानको सर्वत्र प्रशंसा भएको बताए । रासस 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ