arrow

स्वार्थसमूहसँग एकता हुनबाट भगवानले बचाए : कमल थापा

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
kamal-thapa-new-aa.jpg.jpeg
मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासंग एकता नहुनुलाई भगवानले बचाएको रुपमा चित्रण गरेका छन् । 
 
राप्रपा नेपाल मकवानपुरले शनिबार हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले राप्रपासंग एकता नहुनुलाई स्वार्थसमूहसँग एकता हुनबाट भगवानले बचाएको भनेका हुन् । थापाले भने, ‘राप्रपा नेपालले इमान, नैतिकता, निष्ठा र आदर्शको राजनीति गरिरहेकोले लोभ, मोह र स्वार्थसमूहसँग एकता नहुनुमा भगवानले जोगाएको हुनसक्छ ।’ राप्रपाले भने कमल थापाकै कारण एकता नभएको आरोप लगाएको छ ।  
 
कार्यकर्तामाझ थापाले भने, ‘राप्रपा भन्दा ठूलो पार्टी हुँदा समेत हामीले बराबरीको आधारमा एकता गरौ भनेर हदैसम्म लचकता प्रस्तुत गरेका हौं । पशुपती जीहरु रातारात विना विभागीय मन्त्री हुन किन कुद्नु भएको हो, बुझिनसक्नु भो ।’ एकता घोषणा सभाको तयारी भइसक्दा उहाँहरुले आश्चर्यजनक ढंगले साथ तोड्नु भो । 
 
अर्को प्रसंगमा थापाले सीमाङ्कनका विषयमा एमाले र आफ्नो पार्टीलाई उपेक्षा गरे सत्तारुढ दलहरु संविधान संशोधनमा अघि बढ्न नसक्ने बताएका छन् । अध्यक्ष थापाले संविधानमा उल्लेख स्थानीय, प्रदेश र संसद्को चुनाव २०७४ माघ ७ भित्र निर्वाचन गर्न नसके देशमा संवैधानिक रिक्तता भई राष्ट्रियता र प्रजातन्त्रमाथि खतरा पुग्ने औँल्याए । 
 
थापाले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि २६ वर्षसम्म २४ वटा सरकार परिवर्तनबाट अस्थिर भएकाले नेपालको आर्थिक विकास हुन नसकेको बताए । थापाले भने, ‘अहिले सत्ता परिवर्तनभन्दा पनि स्थिरता र आर्थिक उन्नतितर्फ सबै दलहरु एकजुट भए प्रजातन्त्र, राष्ट्रियता र आर्थिक अवस्था बलियो हुनेछ ।’
 
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले नेपालको हितमा चीनसँग गरेको पारवहन सन्धि सम्झौताबाट भारत चिन्तित हुनुपर्ने कुनै कारण नभएको कुरा आफू परराष्ट्र मन्त्री हुँदा भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीलाई प्रस्टसंग भनेको सुनाए ।  यस्तै, थापाले नेपालको समस्या भारत र भारतीय नेता होइनन् –भने । थापाले थपे, ‘भारतीय भन्दा बढी भारतवादी भई आ–आफ्नो दुनो सोझ्याउने नेपाली नेता र कथित बुद्धिजीवी नै नेपालको समस्याका जड हुन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ