arrow

पूर्वका मुख्य पालिकामा एमाले आन्तरिक किचलोमा, ओलीकै गृह जिल्लामा विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
kp-sharma-oli-new-2078-12-09.jpg

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापामा विवाद उत्पन्न भएको छ । मेची नगरपालिकाको मेयरको टिकटलाई लिएर जिल्लाभर नै विवाद उत्पन्न भएको हो । झापाको मेची नगरपालिकाको मेयरको उम्मेदवार छनोटको आन्तरिक चुनावमा पराजित भएका एमाले जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेपछि त्यहाँ तरंग उत्पन्न भएको हो । 

आठ जनाबीच उम्मेदवार छनोटका लागि भएको निर्वाचनमा संगठित सदस्यहरूले मतदान गर्दा प्रदेश सभा सदस्य गोपाल बुढाथोकीले पहिलो लोकप्रिय मत पाएका थिए । घिमिरे चौथो भएका थिए । तर यसको असर जिल्लाभरि नै परेको छ । एमालेले झापाका अधिकांश स्थानीय तहमा आन्तरिक प्रतिस्पर्धाको विधिबाट उम्मेदवार छनोटका लागि सिफारिस प्रक्रिया अगाडि बढाएको छ ।

एमालेबाट विराटनगर महानगरपालिकामा मेयर पदमा पाँच जनाको नाम सिफारिस गरिएको छ । महानगर कमिटीको बैठकले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेपछि त्यहाँ पनि एक प्रकारले विवाद देखिएको छ । 

केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाइएको छ । जसले गर्दा यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पूर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पूर्व मन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः उनीहरुमध्ये कोही पनि सिफारिसमा परेनन् । बरु पर्शुराम बस्नेतको नाम सिफारिस भयो । जसले गर्दा विराटनगरको मेयर सिफारिसमा एमालेभित्र विवाद देखिएको हो । 

तर पूर्व अधिकांश निर्वाचन भन्दा धरान उपमहानगरपालिकाको छुट्टै विशेषता रहेको एमालेका लागि भने यसपल्ट विरासत जोगाउन कठिन रहेको छ ।  सत्ता गठबन्धन र माले आ–आफ्नो चुनावी रणनीति बनाउन जुटेका छन् । 

सत्ता गठबन्धनमा रहेका दलले कुन वडा कसलाई भनेर भागबन्डा मिलाउन गृहकार्य गरिहेका छन् । एमाले भने २ वर्षअघिको उपनिर्वाचनमा गुमाएको विरासत फर्काउने तयारी गरे पनि यो पल्ट निकै चुनौती रहेको  छ । 

पञ्चायतकालमा पनि वामपन्थी उम्मेदवारले जितेको धरानमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि हरेक निर्वाचनमा कम्युनिष्टले जित्दै आएको थियो । २०४८ र २०५४ सालको स्थानीय निर्वाचनमा धरानमा एमालेले मेयर, उपमेयरसहित बहुमत वडामा जितेको थियो ।

लामो समयपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मेयर, उपमेयर जितेको थियो भने २० वटा वडामध्ये १४ वटामा विजयी भएको थियो । मेयर तारा सुब्बाको निर्वाचनको एक वर्षपछि नै मृत्यु भएपछि २०७६ सालमा भएको उपनिर्वाचनमा भने कांग्रेसले हात पार्यो । एमाले र माओवादी केन्द्रबीच एकता भएकाले पनि उपनिर्वाचनमा परिणाम आफ्नो पक्षमा आउनेमा तत्कालीन नेकपा ढुक्क थियो । तर परिणाम भने कांग्रेसको पक्षमा आयो । कम्युनिस्ट उम्मेदवार प्रकाश राईलाई हराउँदै कांग्रेसबाट तिलक राई मेयरमा विजयी भएका थिए ।

अहिले एमाले केन्द्रीय सदस्यहरु आफैं बसेर धरानको विरासत फर्काउन लागि परेका छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज शेरधन राई पनि धरान आएर नेताहरूसँग भेटघाट गरी चुनावी छलफल गरेका छन् ।

 केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज जगदीश कुसियतसमेत धरान आएर रिपोर्टिङ लिने, छलफल गर्ने र योजना बनाउने काममा लागि परेका छन् भने देवराज घिमिरेको पनि आउजाउ बाक्लै रहेको छ ।

२०७६ को उपनिर्वाचनमा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपालाई कांग्रेस एक्लैले पराजित गरेको थियो । अहिले सत्ता गठबन्धनका दलहरू चुनावमा पनि गठबन्धन गरेरै लड्ने गृहकार्यमा भएकाले एमालेलाई सहज छैन । 

विरासत फर्काउने कसरत गरिरहेको नेकपा एमालेले धरान उपमहानगरपालिकाको मेयरका लागि ११ जना र उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।  

एमालेबाट धरानको मेयरका लागि मन्जु भन्डारी, मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस भएको छ ।

मञ्जु भण्डारी केन्द्रीय सदस्यका साथै हालकी उपमेयर हुन् । मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य हुन्  । 

यस्तै मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला जिल्ला कमिटी सदस्य हुन् भने तीर्थ मास्के पूर्वजिल्ला कमिटी सदस्य हुन् । यसैगरी उपमेयरका लागि सुशीला पहाडी, लहरू जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राईको नाम सिफारिस गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ