arrow

कृषि विश्वविद्यालय अस्तव्यस्त

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
कृषि-विश्वविद्यालय.jpg.jpeg
चितवन । शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । 
 
गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढकाल नियुक्त भएसँगै एमाले निकट प्राध्यापकले एक महिना केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खुल्ने र पुनः लगाउने क्रम जारी छ । यस अवधिमा नेपाल विद्यार्थी सङ्घ, प्राध्यापक सङ्घ र कर्मचारीले पटक-पटक तालाबन्दी गरिरहेका छन् । नेविसङ्घले मात्रै दुई पटक गरेर तीन महिना तालाबन्दी गरेको उपकुलपति ढकालले बताए । 
 
“एक वर्षको अवधिमा आधा समय तालाबीन्दीमै बितेको छ,” उनले भने । केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा नेपाली काँग्रेस निकटका प्राध्यापक र कर्मचारीले तालाबन्दी गरेका छन् । त्यस्तै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट कर्मचारीले साउन २५ गतेबाट तालामाथि ताला थपेका छन् । त्यस्तै स्नातकोत्तर अध्ययनरत विद्यार्थीले तीन बुँदे माग राखेर गत शुक्रबारबाट अनिश्चितकालिन पठनपाठन बन्द गराएका छन् । 
 
विश्वविद्यालयमा प्राध्यापक, कर्मचारी र विद्यार्थीका फरक-फरक मागका कारण भएका तालाबन्दी र पठनपाठन अवरुद्धका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । नेकाली काँग्रेस निकट प्रजातान्त्रवादी प्राध्यापक सङ्घका सचिव मुकेश सिंह रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष बनाएर अस्तव्यस्त बनाउने नियतमा विश्वविद्यालय प्रशासन लागेपछि आन्दोलित हुनुपरेको बताए । झोलामा रहेको विश्वविद्यालयलाई स्थापना गरेका पूर्व उपकुलपति प्रा कैलाशनाथ प्याकुरेलको कार्यकाल सक्किएसँगै विश्वविद्यालयभित्र बेथिति बढेर अस्पव्यस्त बनेको सिंहको आरोप छ । 
 
स्नातकोत्तर अध्ययनरत मुक्ति भण्डारी पढाउने समयमा प्राध्यापक, कर्मचारी नहुने, बेथिति बढेको, विकास रकम पारदर्शी नभएकाले आफूहरुले आन्दोलन थालेको बताउछन् । स्नातकोत्तर विद्यार्थीहरुले विद्युतीय हाजिरी व्यवस्था गर्नुपर्ने, विश्वविद्यालयको विकास रकम पारदर्शी गराउनुपर्ने र अनुसन्धानमा आएको रकम समान रुपमा बाँडफाँड गर्नुपर्ने माग गर्दै आएका छन् । 
 
विश्वविद्यालयका उपकुलपति प्राडा ढकाल विभिन्न माग राखेर आन्दोलन गर्नेहरुसँग वार्ताको प्रक्रिया भइरहेको बताए । यस्ता माग रजिष्टारले सम्बोधन गर्नुपर्ने भए पनि हुननसक्दा समस्या आएको र आन्दोलन तथा हडतालका कारण काम गर्ने अवस्था नरहेको उनको भनाइ छ । 
 
विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा कैलाशनाथ प्याकुरेल आस्थालाई लिएर काम गर्दा पार्टी र व्यक्तिलाई फाइदा भए पनि विश्वविद्यालयलाई फाइदा नहुने बताउछन् । विश्वविद्यालयले सुझाव र रायका लागि आफूहरुसँग समन्वय नगरेको र सबैसँग समन्वय गरेर काम गर्न उनले सुझाव दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ