arrow

दोलखामा गठबन्धनबीच आपसमै मित्रवत् भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
barma-lama-congress-dolakha.jpg

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरु नै आपसमा भिड्ने सहमति गरेका छन् । झट्ट हेर्दा यो निर्णयले गठबन्धन नहुने देखिएको भए पनि स्थानीय आवश्यकताका आधारमा पालिका तथा वडा स्तरमा नै छलफल गरेर मिल्न सके मिलेर र मिल्न नसकेमा अलग अलग रुपमा लडेका पालिका तथा वडाहरुको निर्वाचनमा सत्ता साझेदार दल गठबन्धन बीचका दलहरुले स्वस्थ्य र सौहार्दपूर्ण वातावरणमा भाग लिने निर्णय भएको हो । 

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) गरी चार दलबीच भएको यो सहमतिअनुसार निरन्तर रुपमा औपचारिक–अनौपचारिक छलफल जारी राख्ने र आवश्यक परेमा सहमति अनुसार बैठक बोलाउने निर्णयसमेत भएको छ । 

दोलखा जिल्ला कांग्रेस सभापति बर्मा लामाको संयोजकत्वमा आइतबार साँझ बसेको जिल्ला संयन्त्रको बैठकले यिनै तीन बुँदे सहमति गरेको हो ।  

यो सहमति हेर्दा दलहरुबीच नौ पालिका रहेको दोलखामा सत्ता गठबन्धन मिलेर चुनावमा भाग नलिने निश्चित जस्तो देखिन आउँछ । त्यसो त माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले तीन र जसपाले दुई पालिकामा दाबी गरेपछि ठूलो कांग्रेसको भागमा दुई वटामात्र पालिकाको दाबेदारी पर्ने भएपछि दलहरुबीच मित्रवत् प्रतिस्पर्धामा जोड दिइएको हो । 

सत्ता गठबन्धन दलबीच दोलखामा चुनावी गठबन्धन नहुने नै हो त ? भन्ने प्रश्नमा हाम्राकुरासँग लामाले भने, ‘गठबन्धनको कुरो चलिराख्या छ किन नहुनु ? औपचारिक अनौपचारिक वार्ता चलिराखेको छ । नहुने भन्ने टुङ्गो भएको होइन ।’

उनले स्वस्थ्य र सौहार्दपूर्ण वातावरणमा भाग लिने निर्णय सन्दर्भलाई स्पष्ट पार्दै भने, ‘सम्भावना भएन भने भन्ने मात्र हो गठबन्धन टुट्यो भनेको हैन ।’

लामा भन्छन्, ‘चार दलबीच छलफल चलिरहँदा यदि सहमति हुन सकेन भने जस्तो कि वडाहरुमा, अध्यक्षहरुमा नहुन सक्छ नि त । ७४ वटा वडा छ । कुनै कुनै वडामा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । जहाँ चाहिँ एमाले छैन । कुनै वडामा कांग्रेस र जसपामात्र छ र एमाले कमजोर छ भने त्यस्ता ठाउँमा आफै आफै प्रतिस्पर्धा गर्ने भन्या हो । पहिले पनि हामीले त्यस्तो गर्या थियौं ।’

उनले थप स्पष्ट पार्दै भने, ‘यसअघिको चुनावमा पनि कांग्रेस र माओवादीले गठबन्धन गरे पनि कुनै कुनै पालिकामा हामीले सहमति जुटाउन सकेनौं । त्यसमा माओवादी र हामी अलग अलग लड्यौं । तर अरु ठाउँमा त गठबन्धन भएकै हो । त्यसैले कतै कतै गठबन्धन मिलाउन सकिएन भने त आफ्नो आफ्नो ढंगले स्वस्थ्य प्रतिस्पर्धा गर्ने भनिएको हो गठबन्धन टुटेको हैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ