arrow

अबको लडाइँ हाम्रो गठबन्धन र होलीवाइन–सबै राजावादीहरुबीच : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
prachanda-press-meet-2079-1-5.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपालिको चुनावी लडाइ आफूहरुको सत्ता गठबन्धन र होलीवाइन– सबै राजाबादीहरुबीच भएको बताएका छन् । 

माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘एउटा गठबन्धन यही गठबन्धन भयो । अर्को गठबन्धन होली वाइन, सबै राजावादीहरु सबै खालको बनेका हुनाले कुन प्रगतिशील लोकतन्त्रवादी गठबन्धन हो, कुन वामपन्थीहरुको वर्चश्व भएको हो कुन होइन भन्ने कुरा त छयाङ्गै देखिएकै छ ।’

उनले झापामा माओवादीको राप्रपासँग एकता भयो भन्ने कुरा सत्य नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘कुनै खास ठाउँमा कुनै खास व्यक्तिको सन्दर्भमा हुन पनि सक्ला लोकल लेभलमा । हाम्रो भएको छैन यो पहिलो कुरा । दोस्रो कुरा हिजो नेकपा जुन मनसायले देशको राजनीति, स्थायित्व, विकास र समृद्धिको निम्ति भनेर गरिएको थियो त्यो दुई वटा मुलभूत कुराले भङ्ग भएको हो भन्ने कुरा तपाईहरुलाई थाहा छ ।’

उनले स्पष्ट पारे, ‘एउटा धर्मनिरपेक्षताको ठाउँमा हिन्दू अतिवादतिर जान खोज्ने प्रवृत्तिका कारणले पनि समस्या पैदा भएको हो । तपाईहरुले यो कुरा त बुझ्नु भा छ नि । अहिले गठबन्धनभित्र यो विषय उठेको पनि छैन । तर अर्को गठबन्धनमा यही त मुख्य विषय छ । त्यसकारण हामी धर्म निरपेक्षताको पक्षधर हो या होइन भन्ने कुरा एउटा विषय भएको छ । अर्को हामी यो संविधानमा भएको अग्रगामी चाहिँ धाराहरु र प्रवृत्तिलाई हामी रक्षा गर्न चाहेको हो कि भङ्ग गर्न चाहेको हो । तपाई राप्रपा भन्नुस् या राजा नै फर्काउनु पर्छ भन्ने पार्टीहरुसँग गठबन्धन गर्नुको तात्पर्य गणतन्त्रको रक्षाको निम्ति हुन सक्छ त ?’

उनले अगाडि भने ‘अनि हाम्रो गठबन्धनभित्र कोही गणतन्त्र विरोधी देख्नुभएको छ त ? यो त दिनको घाम जत्तिकै छर्लङ्ग छ नि मलाई लाग्छ यो पटक नेपाली जनताले एकचोटी फेरि ऐतिहासिक फैसला गणतन्त्रकै पक्षमा, परिवर्तनकै पक्षमा, संघीयताकै पक्षमा, समावेशी समानुपातिकताकै पक्षमा गर्छन् । हाम्रो अपील र विश्वास पनि त्यही हो ।’

पत्रकार सम्मेलनका क्रममा उनले ६ महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेसलाई दिएर बाँकी तीन वटा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी (जसपा) ले बाँड्ने तयारी भइरहेको बताएका छन् । 

बालुवाटारमा भएको पाँच दलीय सत्ता गठबन्धनको बैठक छाडेर आएका प्रचण्डले भने, ‘हाम्रो पछिल्लो छलफलअनुसार ६ वटा महानगरपालिकामध्ये ३ वटा कांग्रेसलाई र बाँकी ३ वटा महानगरपालिका माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीले एक एक वटा बाँड्ने सहमति नजिक पुगेका छौं ।’

उनले यहीअनुसार नै उपमहानगरपालिकामा पनि भागबण्डा गर्ने बताएका छन् । उनले सहमतिबाटै अगाडि बढ्ने बताउँदै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सजिलै आएको हैन । यो परिवर्तन रोक्न खोज्नेहरुबीच डाडु पन्यु गयो विगतमा । विगतमा हामीबाट पनि केही कमी कमजोरी भएको छ । अब हामीले नै जनताको घरघरमा गएर यसबारे बुझाउनु जरुरी छ ।’

प्रचण्डले भने, ‘महानगर र उपमहानगरपालिकालाई केन्द्रबाट टुंग्याउने नीति भएकाले केन्द्रबाटै टुंग्याउँदै छौं । अन्यको हकमा स्थानीयबाटै मिलाउने र यदि नसके केन्द्रबाटै मिलाउने छौं ।’

गठबन्धन नटुट्ने भन्दै प्रचण्डले भने, ‘एक दलभित्र त असहमति हुन्छ भने पाँच दलबीच असहमति भए पनि अन्तमा समाधान हुन्छ । साझा चुनाव चिन्ह बनाएर जाने सम्भावना तत्काल देखिएको छैन ।’ 

प्रचण्ड बालुवाटारमा गइरहेकोबारे जिज्ञासा राख्ने क्रममा माओवादी बलियो भए किन बालुवाटार जान्थ्यो र ? भन्ने प्रश्नमा उनले भने, ‘बालुवाटार प्रधानमन्त्रीको निवास भएकाले बलियो र कमजोर हुनुको सम्बन्ध छैन । प्रधानमन्त्री भएको भए त बालुवाटारमै हुन्थें । दोस्रो कुरा मेरो उपेन्द्रजी र बाबुरामजीसँग राम्रो तालमेल भइरहेको छ ।’ 

भरतपुरमा रेणु दाहाललाई नै ल्याउनु पर्ने किन ? भन्ने प्रश्नमा उनले भने ‘६ वटा महानगरपालिका छन् । त्यसमा एउटा त माओवादीलाई पर्ने नै होला । काठमाडौं, विराटनगर जहाँ भए पनि हुन्छ । भरतपुरमा पहिले रेणुले जितेको हुनाले अहिले दिँदा पनि ठीकै हुन्छ भनेको हो । केही केहीलाई नलागेको अलग कुरा कांग्रेसलाई पनि भरतपुर दिनुपर्छ भन्ने होला ।’ 

उनले थप स्पष्ट पारे, ‘गठबन्धन भएन भने जहाँ जोसँग सहमति हुन्छ उसैसँग गर्ने हो । माओवादीले तीन महिनाअघिदेखि नै एक्लै लड्ने भन्दै आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ