arrow

प्रचण्डका थप पाँच मन्त्रीले सपथ खाए, प्रभु साह असन्तुष्ट

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
mantri-sapath-new.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले प्रधानमन्त्री निर्वाचित भएको १० दिन पछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । 
 
तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रमुख सत्ता साझेदार दल कांग्रेसले नै दुई जना मन्त्री बाहेक अन्य पठाउन सकेको छैन । 
 
आइतबार प्रधानमन्त्री दाहाले आफ्नो दलबाट पाँच जना मन्त्री र चार जना राज्यमन्त्री थपेका छन् । मन्त्रीहरुले आइतबारै राष्ट्रपतिको कार्यालयमा आयोजित एक  समारोहमा पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ लिएसंगै मन्त्रीहरुले आजै पदभार ग्रहण गरेका छन् । 
 
प्रधानमन्त्री दाहालले आफ्नो दलको भागमा परेका ८ जना मन्त्री मध्ये अहिले पाँच जना थप गरेका हुन् । यसअघि ३ जना मन्त्रीले दहालसंगै सपथ ग्रहरण गरेका थिए ।
 
थपिएका मन्त्रीहरुमा राम कार्की सूचना तथा संचार, जनार्दन शर्मा ऊर्जा, हितराज पाण्डे स्थानीय विकास, धनीराम पौडेल विना विभागिय र अजयशंकर नायक कानुन न्याय तथा संसदीय मामिला छन् । यद्यपि, प्रभु साहलाई सुरुमा संघीय मामिला तथा स्थानीय विकास र पछि संसदीय मामिला तथा कानुन न्याय मन्त्री दिने चर्चा चलेपनि अन्तिममा उनी परेनन् ।
 
साहले स्थानीय निकायको निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै आफुलाई स्थानीय विकास दिएको भए राम्रो हुने प्रतिक्रिया दिएका छन् । उनले आफुले पार्टीभित्र फरक विचार राख्ने भएकै कारण आफुलाई विश्वास नगरेको गुनासो समेत गरेका छन् । उनले प्रधानमन्त्रीले राष्ट्रको चिन्ता भन्दा पनि सरकारको मात्रै चिन्ता गरेको र यस्तो मन्त्रिपरिषद्मा अब कुनै हालतमा सहभागि नुहने बताएका छन् ।  
 
प्रमुख सत्ता सझेदार नेपाली कांग्रेसले मन्त्री पठाउन ढिला गरेपछि माओवादी केन्द्रले तेस्रो चरणमा आफ्नो भागमा परेका मन्त्रीहरुमात्रै थपेको हो । नेपाली कांग्रेस आफ्नो भ्रातृ संगठन नेविसंघको महाधिवेशन सकिएपछि मन्त्री थप गर्न सिफारिस गर्ने बताएको छ । 
 
दाहालले पहिलो चरणमा माओवादी केन्द्रका तीन र कांग्रेसका तीन मन्त्रीगरी पाँच मन्त्री समावेश गरेर मन्त्रिपरिषद् गठन गरेका थिए । दोस्रो चरणमा दाहालले राप्रपाबाट दुई र नेकपा संयुक्तबाट एक जना गरी तीन जना मन्त्रि थपेका थिए ।  
 
सुरुमा विना विभागीय मन्त्रीको सपथ लिएका दिपक बोहरा, विक्रम पाण्डे र जयदेश जोशीले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । बोहरा भूमि सुधार, पाण्डे आपूर्ति र जोशी वातावरण मन्त्री भएका छन् । 
 
शनिबार राष्ट्रपतिले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइबारे चासो राखेपछि प्रधानमन्त्रीले आइतबार तेस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
 
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ